४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन महानगरको आग्रह



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुने भएकाले त्यसको गुणस्तरमा ख्याल गर्न आग्रह गर्नुभएको हो ।

विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी दूधजन्य वस्तु उपभोग गर्ने भएकाले उक्त समूह सबैभन्दा जोखिममा पर्ने भन्दै स्वच्छतामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

“दूध र दुग्धजन्य पदार्थ प्रायः सबै उपभोक्ताले उपभोग गर्ने भएकाले सानो गल्ती हुँदा पनि स्वास्थ्यमा समस्या हुनसक्छ । त्यसैले उपभोक्ताका साथै दूधमा प्रयोग हुने पानीको गुणस्तर, बिक्री–वितरणका लागि प्रयोग हुने प्लास्टिक वा रबरको गुणस्तर, भण्डारणको तरिका आदिमा व्यवसायीहरू निकै सचेत हुनुपर्छ”, न्यौपानेले भन्नुभयो ।

महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विविध कार्यक्रम गर्दै आएको छ । महानगरद्वारा सञ्चालित खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले अब व्यवसायलाई सुदृढ तथा व्यवस्थित बनाउन डेरी पसल र साना दूध तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायी सुधारको कामसमेत गरिनुपर्ने बताउनुभयो ।

“उक्त कार्यक्रममा दूध र दुग्धजन्य व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनमा अपनाइएका र अपनाउनुपर्ने अभ्यास, खाद्य स्वच्छता कायम गर्ने तरिका, बिक्री–वितरण र प्रशोधनस्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया, उत्पादनको स्वाद परीक्षणलगायत विषयमा पनि ध्यान दिन आवश्यक छ । हामीले यो सुझाव दिइएका छौँ”, उहाँले भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार दूषित खानपानका कारण विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र वार्षिक चार लाख २० हजारको मृत्यु हुने गरेको छ । त्यसैले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन् ।

नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपकप्रसाद धमला स्वच्छताका विषयमा निरन्तर प्रशिक्षण हुनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । “प्रत्येक वर्ष नयाँ व्यवसायी र नयाँ प्रविधि भित्रिन्छ । मानिसले जानेकै कुरा पनि व्यवहारमा अपनाउँदैनन्, त्यस विषयमा ध्यान दिन सचेतना  र प्रशिक्षण दिन आवश्यक छ”, उहाँ भन्नुभयो । रासस