९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन उल्लघंनले जोखिम थप्यो



अ+ अ-

काठमाडौं । ‘लकडाउन’ उल्लघंन गर्दा कोरोनाभाइरस (कोभिड–१९) को जोखिम थप बढ्न थालेको छ । सोमबार मात्रै पोजेटिभ नतिजा देखिएका दुई जना लकडाउनको उल्लघन गर्दै आ–आफ्नो घर आईपुगेको खुलेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटका १९ वर्षिय युवक र कैलालीकी ६५ महिलामा कोरोनाभाइरस भेटिएको बताएको छ । रौतहटका युवक भारतको नयाँ दिल्लीबाट लकडाउनकै समयमा राति नेपाल छिरेका थिए । कैलालीकी महिला भने लकडाउन शुरु भएपछि वीरगञ्जबाट बसबाट यात्रा गरी घर पुगेकी थिइन् । सरकारले महामारी नफैलियोस् भनेर चैत ११ गतेबाटै लकडाउन गरेपनि त्यसलाई नागरिकले पूर्णरुपमा पालना नगरेपछि संक्रमण बढ्न थालेको देखिएको हो ।

अहिलेसम्म कोरोना भेटिएकामध्ये एक बाहेक सबै व्यक्ति विदेशबाट आएका हुन् । पछिल्ला दुई जनासँगै नेपालमा कोरोना संक्रमितको सख्या १४ पुगेको छ । ईशनाथ नगरपालिका–५ का १९ वर्षीय युवक गत १६ चैत राति घर आइपुगेका हुन् । दिल्लीको पहाडगञ्जस्थित एउटा ब्याग उद्योगमा काम गर्ने युवक लकडाउनपछि उद्योग बन्द हुँदा घर आउन खोजेका थिए । पहाडगञ्जबाट अन्य सामान्य यात्रुहरु सरह १४ चैतमा उद्योगमा सँगै काम गर्ने चार जना युवक भारतको बिहारका मानिससित पैदलै हिंडेका थिए । उनीहरु मालवाहक ट्रक फेला पारेर भारतको बिहार प्रान्त पूर्वी चम्पारण जिल्लाको मोतिहारीसम्म आइपुगेका थिए । १६ गते बिहान मोतिहारीमा ओर्लेका सबैजना ४० किलोमिटर पैदल हिंडेर नेपाल भारत सिमानाको ईशनाथमा सोही दिन राति १० बजे आइपुगेका थिए ।

संक्रमित युवकसँगै ईशनाथ ५ का अन्य दुई जना र ईशनाथ ६ का एक जना गरी चार जना थिए । ईशनाथमा नेपाल–भारत सीमाक्षेत्रमा करीब दुवैतिर टाँसिएका जस्तैगरी गाउँ रहेका छन् । यसैको फाइदा उठाएर चारैजना युवक घरमा आइपुग्न सफल भएको बताइएको छ । भारतको दिल्लीबाट चारजना युवक घर आइपुगेको थाहा पाउने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेपछि चारै जनालाई १७ गते बिहानै ईशनाथ नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । संक्रमित युवकसँगै बसमा आएका अन्य तीनजनाको रिपोर्ट भने निगेटिभ आएको ईशनाथ नपाका स्वास्थ्य संयोजक इशराजुल खानले जानकारी गराएका छन् ।

गत २८ चैतमा स्वास्थ्यकर्मीको टोलीले ईशनाथ नपाको क्वारेन्टिनमा रहेका २५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १ जनाको पोजिटिभ र अन्य सबैको नेगेटिभ रिपोर्ट आएको खानको भनाइ छ । संक्रमित युवकमा अहिलेसम्म कोरोनाको लक्षण मानिने ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने तथा घाँटी दुख्ने लगायत कुनै पनि समस्या देखिएको छैन । संक्रमणको पुष्टि भएपछि युवकलाई आइसोलेसनमा राखिएको छ । जिल्लामा लकडाउनमा थप कडाइ गरिएको र सुरक्षा व्यवस्था पनि थप सुदृढ बनाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे जानकारी गराएका छन् ।

घरमै बसेकी महिलामा देखियो
कैलालीको लम्कीचुहा नगरपालिका १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाएकी ती महिलामा पीसीआर प्रविधिबाट चेकजाँच गर्दा पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको छ । कोरोना संक्रमित ती महिलाका श्रीमान् वीरगञ्ज नाकामा चिया बेच्थे । त्यहाँ उनिको सामान्य चिया पसल थियो । उनका कान्छा छोराले बताए अनुसार आमा भने घरमै दाइका छोराछोरीसँग बस्ने गर्दथिइन् ।

लकडाउनका कारण समस्यामा परेपछि उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ गते साँझ त्यहाँबाट कैलालीको लम्की पठाएको थियो । मजदुरहरू समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर कैलाली पठाएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी जानकारी दिए । उनी भुरुवास्थित ठुलो छोराको घरमा बसेकी थिइन् । सीमा नाकाबाट आएको भन्दै उनलाई जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राख्न लगाएका थिए ।

चैत्र २५ गते काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्यापिड टेस्ट गरेको थियो । र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो । क्वारेन्टाइनबाट छाडिएपछि उनीफेरी ठुलो छोराको घरमा बस्न थालेकी थिइन् । उनको चैत २५ गते काठमाडौंबाट आएको तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन गरी परिक्षणका लागि लगिएको थियो । र्यापिड टेस्ट गर्दा नेगेटिभ रिर्पोट आएपछि ती महिलालाई घर फर्काइएको थियो । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षण गर्दा ‘पोजेटिभ’ देखिएको हो । त्यसपछि उनलाई सोमबार विहान घरबाटै स्वास्थ्यकर्मीले लगेर अस्पताल भर्ना गराएका छन् । ति महिला ब्लडप्रेसर र दमको समस्या रहेको छ ।

काठमाडौंमा तीन जनाको र्यापिड टेष्ट पोजेटिभ
काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोनाको संक्रमण देखिएको छ । यद्यपी र्यापिड टेष्टले शतप्रतिशत नतिजा नदिने भएकाले कोरोनाको आशंकामा तीनै जनालाई पाटन अस्पताल भर्ना गरिएको छ ।

चैत ५ गते बेलायतबाट आएका उनिहरुमा पोजेटिभ देखिएको हो । कागेश्वरी मनोहरा नगरपालिकाका अनुसार सो अपार्टमेन्टमा पाँच सय परिवार रहेको र त्यसमध्ये ६१ जनाले विदेशबाट आएको जानकारी गराएका थिए । त्यसमध्ये ३६ जनाको टेष्ट सोमबार भएको थियो भने बाँकीको मंगलबार हुने बताइएको छ । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप‍नाएको छ । सौर्य दैनिक