२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा लकडाउन वैशाख २१ सम्म पुर्याएपछि नेपालमा पनि लम्ब्याउने तयारी



अ+ अ-


काठमाडौँ । भारत सरकारले कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोक्न हाल जारी रहेको लकडाउनलाई आगामी मे ३ तारिख (वैशाख २१) सम्म लम्ब्याएको घोषणा गरेको छ । मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाल लगाइआएको लकडाउनलाई थप तीन साता लम्ब्याएर मे ३ सम्म जारी राखिएको जानकारी दिएका हुन् । प्रधानमन्त्री मोदीले लकडाउनको अबको अवस्थामा झनै कडा रुपमा अनुगमन गरिने पनि बताए । यही अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा कडा अनुगमन गरिने उनले बताए ।


भारत सरकारले यसअघि घोषणा गरेको तीन हप्ते लकडाउन बुधबार (१५ अप्रिल) मा सकिँदै थियो । त्यसको अघिल्लो दिन टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनलाई ३ मेसम्म बढाउने निर्णयमा पुगेको बताएका हुन् । प्रधानमन्त्री मोदीले गत शनिबार भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कल गरेर अहिलेको लकडाउनको अवस्थालाई के गर्ने भन्ने विषयमा परामर्श गरेपछि उनीहरुले लम्बाउन भनेका थिए । भारतमा हालसम्म कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९ हजार भन्दा बढी पुगेको छ । मङ्गलबारको समाचारअनुसार यहाँ कोरोना भाइरसबाट ३३९ जनाको ज्यान गइसकेको छ ।

उता भारतले थप १९ दिन लकडाउन लम्बाएकोले यता नेपालले पनि त्यसको तयारी थालेको छ । यहाँ आज २१ दिनदेखि जारी लकडान भोलि रातिबाट सकिँदैछ । तर यता विरामीहरु थप बढ्दै गएपछि नेपाल सरकारले पनि लकडाउन लम्बाउने तयारीस्वरुप अहिले बालुवाटारमा बैठक बसिरहेको छ । सोही निष्कर्षका आधारमा जारी मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने सरकारका एक मन्त्रीले बताए । उनका अनुसार बैठकले कम्तिमा एकसाता थप्ने र लकडाउन थप कडा बनाउने तयारी छ । ‘क्रमश बैशाख अन्तिमसम्म पनि लकडाउन लम्ब्याउनुपर्ने हुनसक्छ । तर अहिले एक साताको मात्रै निर्णय हुन्छ’, ती मन्त्रीले रातोपाटीसँग भने,‘ नेपालसँग सीमा जोडिएको भारतमा समेत वैशाख २१ सम्म लकडाउन थपिएकाले यहाँ पनि लम्ब्याउनुको विकल्प छैन । यसमा सवैको साथ र सहयोग चाहिन्छ ।’ देशभित्र कोरोना संक्रमितको संख्या थपिदै गएकाले परीक्षणको दायरा समेत अझ बढाउदै लैजानुपर्ने भएकोले लकडाउन लम्ब्याउन लागिएको उनको भनाइ छ । ती मन्त्रीका अनुसार सरकारले लकडाउन बढाएपछि मर्कामा पर्ने बर्गका लागि पनि केही राहतका कार्यक्रमहरु ल्याउने जानकारी दिएका छन् ।

सोमबार मात्रै कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १४ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा तीन जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्। पछिल्लो समय काठमाडौको सनसिटी अपार्टमेन्टमा पनि थप तीनजनामा कोरोना संक्रमणको आशंकामाअस्पताल भर्ना गरिएको छ। एकैघरका उनीहरुको एन्टिबडीको नतिजा पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि थ्रोट स्वाबको रिपोर्ट आइसकेको छैन ।