२३ असार २०८३, मंगलवार
,
Latest
सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै मौलिक संस्कृति, भेटिन छाडे दसैँमा लिङ्गे पिङ



अ+ अ-

बागलुङ। दसैँ पर्वसँग लिङ्गेपिङको नजिकको साइनो छ । पहिले पहिले दसैँका बेला गाउँ, सहर जताततै लिङ्गेपिङ बनाइन्थ्यो । अझ गाउँकाडाँडा र चौतारामा त झन् एकै ठाउँमा धेरै पिङ हुन्थ्ये ।

तर पछिल्लो समय गाउँमा एउटा पनि लिङ्गेपिङ भेट्याउन मुस्किल पर्छ । बाँसका बाला र बाबियोको लठारो बाटेर बनाइएको पिङमा बालबालिकादेखि वृद्धवृद्धासम्म मच्चीमच्ची खेल्ने पिङ नहुँदा दसैँ अल्ली खल्लो जस्तो हुन थालेको बुढापाका बताउँछन् ।

चौतारामा बनेका पिङ वर्षौँदेखि छुटिएका गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा हुने माध्यम बन्थ्यो । अहिले ती डाँडा र चौतारा सुनसान छन् । पहिले पिङका बला गाडेका डोब पनि पुरिइसकेका छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छाडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् ।

गाउँमा पिङका लागि लठारो बाट्ने सीप भएका पनि भेटिदैनन् । दसैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ कहीँ कतै नबन्दा दसैँको रौनक नै कम छ । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि दसैँमा पिङ बनाइन छाडेको गलकोट नगरपालिका–८ का तिलबहादुर खत्रीले बताउनुभयो । दुई वर्ष अगाडिसम्म गाउँको विभिन्न ठाउँमा पाँच वटासम्म लिङ्गे पिङ बनाउने गरेकामा अहिले एउटा पनि नभएको उहाँको भनाइ छ । युवा पुस्ताले आधुनिक कला संस्कृतिलाई अगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको भन्दैपिङ हाल्ने परम्परा हटेको उहाँ बताउनुहुन्छ ।

“दसैँमा कहीँकतै पनि पिङ भेटिदैनन्, पहिले हाम्रो पालामा जताततै पिङैपिङ हुन्थे, पिङले दसैँको गरिमालाई बढाउने गथ्र्यो, हाम्रो पालामा गाउँका कुनै पनि डाँडा र चौतारा खाली हुँदैन्थे, दसैँ आउनभन्दा १५ दिन अगाडि नै पिङ बनाइसक्थ्यौँ, तर अहिले दसैँका दिनसम्म पनि कहीँ पिङ बनाएका छैनन्, हाम्रो उमेर गयो, बला लिएर पिङ हाल्नसक्ने अवस्था छैन, तर युवाले चासो दिएनन् ।”

वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहेको हुँदा दसैँमा पिङ खेल्ने प्रचलन गरेको बडिगाड गाउँपालका–१ का कृष्ण थापाले बताउनुभयो । बाउबाजेको पालादेखि दसैँमा चर्के पिङ र लिङ्गे पिङ हालेर खेल्ने गरे पनि ती वर्षदेखि आफूले गाउँमा पिङ नदेखेको उहाँले सुनाउनुभयो । मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको थापाले बताउनुभयो ।

दसैँ आउनुभन्दा एक साता पहिले नै गाउँमाथिको डाँडामा मान्छे जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लठारो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको उहाँले सुनाउनुभयो ।

थापाले भन्नुभयो, “पहिले–पहिले पिङ हाल्ने ती ठाउँमा अहिले झाडी पलाएको छ, डाँडा र चौतारा पनि सुनसान छन्, गाउँमा युवाहरु पनि छैनन्, मेला महोत्सव लाग्यो भने बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो, हामीले बनाउन सक्दैनौँ नयाँले चासो दिँदैनन् ।”

दशक अगाडिसम्म गाउँका अधिकांश स्थानीयले लेकमा गएर बला लिएर पिङ बनाउने गरेको तर, पछिल्लो समय उक्त संस्कृति हराएको निसीखोला गाउँपालिका–४ का जङ्गबहादुर सुनारले बताउनुभयो । पहिले दसैँका बेला चर्खे पिङसमेत हाल्ने गरेको भन्दै अहिले कतै नभेटिने उहाँको भनाइ छ ।रासस