११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

मधेसमा दसैँः प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

मधेसमा दसैँः प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला
अ अ+ अ-

धनुषाधाम। मधेस प्रदेशका आठ वटै जिल्लामा बडादसैँको रौनक छाएको छ । यहाँका शक्तिपीठमा पूजाअर्चना तथा मेला आयोजना गरी दसैँ मनाइँदैछ ।

खासगरी जनकपुरधाम, वीरगञ्ज र सप्तरीमा नवरात्रीका अवसरमा देवीको शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । दर्शनार्थीको सहजताका लागि व्यक्तिगत, सामूहिक र स्थानीउ युवा क्लबको सहयोगमा दसैँलाई सभ्य एवं भव्य बनाउने काम भइरहेको छ ।

घटस्थापनाकै दिनदेखि शक्तिपीठमा लोक नृत्य, सांस्कृतिक कार्यक्रमलगायत विविध कार्यक्रम गरी दसैँलाई भव्य बनाउने प्रयास भइरहेका छन् । विशेषगरी साँझ र बिहान मन्दिरहरूमा पुरुषभन्दा महिलाहरूको भीडभाड बढी लाग्ने गरेको छ । प्रत्येक बिहान स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने क्रम घटस्थापनादेखि विजयादशमी अर्थात् विसर्जनसम्म नै हुने गरेको छ ।

जनकपुरधामको राजदेवी मन्दिर, सिरहाको लहानस्थित दुर्गा मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, महोत्तरीको सोनामाई, संसारी माई, पञ्चधुरा माई, सर्लाहीको चमेलीमाई, रौतहटको गौरस्थित राजदेवी मन्दिर, पर्साको गहवा माई र बाराको गढीमाई मन्दिरमा नवरात्रिभर दर्शथार्नीको भीड लाग्ने गर्दछ ।

राजदेवी मन्दिर–जनकपुरधाम (धनुषा)

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित राजदेवी मन्दिरलाई यहाँको प्रमुख शक्तिपीठ मानिन्छ । यो मन्दिरमा प्रत्येक वर्ष दसैँ र चैतेदसैँमा भव्य मेला लाग्छ । मन्दिरलाई स्थानीय युवा क्लबले बेहुलीझैँ सजाएर मेलाको आयोजना गर्छन् । यहाँ नेपाल मात्रै होइन भारतका विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गर्छन् ।

राजदेवीलाई राजा जनकको कुलदेवीको रूपमा मानिन्छ । यहाँ अष्टमीको दिन बर्सेनि १५ हजारभन्दा बढी खसी बोकाको बलि दिने गरिएको छ ।

दुर्गा मन्दिर–लहान (सिरहा)

लहान नगरपालिका–७ स्थित दुर्गा मन्दिरमा यतिबेला भव्य मेला लागेको छ । दसैँका दसँै दिन यस मन्दिरमा दैनिक ठूलो भीडभाड हुन्छ । यहाँ सिरहाका मात्र नभई सप्तरी, उदयपुर, धनुषा, काठमाडौँ, विराटनगरलगायत भारतका विभिन्न ठाउँबाट हजारौँ भक्तजन आउने गरेका छन् ।
धार्मिक तथा पौराणिक महत्त्व बोकेको यस मन्दिरमा भाकल पूरा हुने विश्वाससहित प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा बली दिने र खोइछ भर्ने चलन छ ।

सोनामाई मन्दिर–औरही (महोत्तरी)

महोत्तरीको औरहीस्थित सोनामाइ मन्दिरमा पनि दसैँ विशेष रूपमा मनाइने गरिन्छ । यहाँ दसैँमा भूतमेलासमेत लाग्ने गरेको छ । दसैँको षष्ठी तिथिदेखि दशमीसम्म भूतप्रेतमा विश्वास गर्नेहरू यहाँ आउने गरेका छन् ।

मन्दिरका पुजारी केदार झा उक्त मेलामा शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजन आउने गरेको बताउनुहुन्छ । मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि मानिसहरू आउने गरेको उहाँले सुनाउनुभयो ।

दुर्गा पूजा मटिहानी–(महोत्तरी)

यस्तै, महोत्तरीको मटिहानीमा पनि दसैँमा दुर्गा मेला विशेष रूपले मनाइन्छ । नेपाल भारतको सीमामा पर्ने यो ठाउँमा भव्य मेला लाग्ने गरेको छ ।

संसारी माई–(महोत्तरी)

महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्राचीन शक्तिपीठ संसारी माई मन्दिरमा हरेक पाँच वर्षमा विशेष मेला लाग्छ । संसारी माईले सपनामा पूजा गर्ने वर्षको सङ्केत दिने गरेको जनविश्वासअनुसार यहाँ नेपाली सेनाको सलामीसँगै पञ्चबलि दिने परम्परा छ । सेन वंश, नान्य वंशदेखि पृथ्वीनारायण शाहको पालासम्म यहाँ विशेष पूजा हुँदैआएको बताइन्छ ।

पञ्चधुरा माई–(महोत्तरी)

महोत्तरीको बर्दिबास–४ स्थित प्राचीन शक्तिपीठ पञ्चधूरा माई मन्दिरलाई साक्षात् भगवतीको निवास मानिन्छ । यहाँ भक्तजन सुख–दुःख वा सन्तानको कामना लिएर पुग्ने गर्छन् । यहाँ दसैँबाहेक अन्य समयमा पनि बलि दिने परम्परा छ । किंवदन्तीअनुसार तत्कालीन अवस्थामा जङ्गबहादुर राणाले १९३३ मा सिकारका क्रममा सेतो बाघदेखि बन्दुक हानेको गोली यहीँ पञ्चधूरामा विलय भएको भनिन्छ ।

छिन्नमस्ता भगवती मन्दिर–छिन्नमस्ता(सप्तरी)

सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित यस स्थानमा बिहानदेखि रातिसम्म भीड लाग्ने गरेको छ । नेपाली मात्रै नभई भारतीय पनि यहाँ पूजा गर्न आउँछन् ।

कङ्कालिनी मन्दिर–भारदह (सप्तरी)

सप्तरीकै हनुमाननगर कङ्कालिनी नगरपालिकाको भारदहमा रहेको कङ्कालिनी मन्दिर पनि सप्तरीको प्रमुख शक्तिपीठमध्येको एक हो । यस मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने विश्वाससहित नेपालका विभिन्न स्थान र भारतबाट श्रद्धालुहरू आउने गरेका छन् । दसैँमा यहाँ ठूलो मेला लाग्ने गरेको छ ।

यहाँ रहेको मुख्य मन्दिर प्यागोडा शैलीमा रहेको छ । मन्दिरमा पाँचस्तरको छाना रहेको छ ।

अन्य शक्तिपीठमा पनि उत्तिकै आस्था

सर्लाहीको सलेमपुरमा रहेको चमेली माई मन्दिर, रौतहट सदरमुकाम गौरमा रहेको राजदेवी मन्दिर, पर्साको गहवामाई मन्दिर र विश्वमै बढी पशु बलि दिइने भनेर चर्चामा रहेको बाराको गढीमाइ मन्दिर पनि यहाँका चर्चित शक्तिपीठ हुन् । गढिमाइमा हरेक पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने गरेको छ ।रासस