मुस्ताङ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटकको सिजनमै मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक नदेख्दा आफू खिन्न भएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश समिति र त्यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरुसहित आज बिहान मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेपछि उहाँले फेसबुक मार्फत् सो धारणा राख्नुभएको हो ।
उहाँले गतबर्ष यही समयमा विश्वका हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मुक्तिनाथ पुग्दा आन्तरिक तथा बाह्य पर्यटकहरु भरिभराउ देख्दा निकै खुसी लागेको तर आज भने पर्यटकको सिजनमै मुक्तिनाथ र मुस्ताङ क्षेत्र नै सुनसान देखिएकाले आफूलाई दुःख लागेको बताउनुभएको छ ।
उहाँले नेपालको विकासको प्रमुख आधार नै पर्यटक भएकाले नेपालको अधिक सम्भावनाका रुपमा रहेको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवर्धन र विकासका क्षेत्रमा लाग्न सबैसमक्ष आग्रह पनि गर्नुभएको छ ।

आज बिहान मुस्ताङ जिल्लास्थित श्री मुक्तिनाथ धामको दर्शन गरियो । गतबर्ष पनि यही समयमा यहाँ आउने अवसर मिलेको थियो । त्यसबेला यो पवित्र धार्मिक स्थल आन्तरिक तथा बाह्य दर्शनार्थी र पर्यटकले भरिभराउ देख्दा निकै खुसी लागेको थियो । तर, आज यो पर्यटकीयस्थल र यस वरपरको मुस्ताङ क्षेत्र सुनसान देख्दा मन खिन्न भएको छ । पर्यटन हाम्रो विकासको प्रमुख आधार हो र हामीसँग प्राकृतिक, भौगोलिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको अधिक सम्भावना छ । मुख्य सिजनमा समेत सुनसान देखिएको मुस्ताङ क्षेत्र र देशका अन्य यस्तै प्रसिद्ध धार्मिक तथा पर्यटकीय सम्पदाहरु प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न हामी सबै लागौँ ।
जयश्री मुक्तिनाथ!










