२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

जेन जी पुस्ताको अबको कार्यभार

जेन जी पुस्ताको अबको कार्यभार
जेन जी युवा प्रधानमन्त्री सुशीला कार्कीलाइ सिंहदरबारमा भेटेपछि प्रतिक्रिया दिँदै ।
अ अ+ अ-

गत भाद्र २३ र २४ गते जेनेरेशन जी (जेन जी) द्वारा गरिएको सशक्त प्रदर्शनले मुलुकको राजनैनिक इतिहासमा नयाँ र गम्भीर मोड ल्याएको छ । आन्दोलनले दशकौँदेखि जनताको अपेक्षा विपरित सत्तामा रहेका पुराना राजनैतिक दल र उनीहरुको नेतृत्वमा ठूलो धक्का दिएको छ । दुई दिनको आन्दोलनले करिब ३५ वर्षदेखि सत्ताको म्युजिकल चेयरको गेम खेलिरहेका पुराना दलका शीर्ष नेतृत्वको शासन सत्ता मात्र ढलेको छैन, पुराना शासनका सबै शासकीय संरचनाहरु खल्बलिएका छन् र नयाँ सरकार बनेको छ ।

हुनत नेपाली जनताले विगतका आम निर्वाचनहरु तथा स्थानीय तहको निर्वाचनमा पनि नयाँ तथा वैकल्पिक नेतृत्वको खोजी गरेको स्पष्ट संकेतहरु दिएका थिए । मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद, बेरोजगारी र अस्थिर राजनीतिले दिक्क भएका नेपाली जनता, विशेष गरी युवाहरुले आफ्नै समयमा यी कुराहरुको अन्त्य गर्दै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिको यात्रामा अगाडि बढाउने नेतृत्वको अपेक्षा राखेका थिए । त्यो कुरामा पुराना दल र नेतृत्व तयार नभएपछि युवाहरु आफै सडकमा उत्रिएर अहिलेको परिवर्तन ल्याएका छन् । परिवर्तनसँगै नयाँ सरकार गठन भएको छ । पूर्व प्रधानन्यायाधीस सुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । मन्त्रिपरिषद्मा लोकप्रिय, योग्य र इमानदार व्यक्तिलाई पठाएर आशाको त्यान्द्रो बलियो बनाउने कामको सुरुवात भएको छ ।

आन्दोलनको उठान र मुद्दा

नेपालको जेन जी आन्दोलन विश्वमा अहिले भइरहेका युवा आन्दोलनकै पुनरावृत्ति वा अंग हो । त्यसैले यो आन्दोलन पनि विश्वभरका युवामा देखिएको युवा चेतनाको ज्वारभाटा हो । अहिले विश्वका थुप्रै मुलुकहरुमा युवा पुस्ताले लोकतन्त्र, भ्रष्टाचारको अन्त्य, पारदर्शिता, सामाजिक न्याय र जलवायु परिवर्तनका मुद्दा उठाएर आन्दोलन तथा प्रदर्शन गरिरहेका छन् । सन् २०१९/२० तिर हङकङमा भएको विद्यार्थी आन्दोलनले विश्वको ध्यान तानेको थियो । उनीहरुले सामाजिक सञ्जाल, क्रिएटिभ अभियानमार्फत सत्ताको विरोध गरेका थिए । त्यसैआसपास, सार्वजनिक यातायातको भाडा वृद्धिको विरोधबाट सुरुभएको चिलीको युवा आन्दोलन अन्तत: संविधान लेखनसम्म पुगेको थियो ।

उनीहरुले सामाजिक असमानता, शिक्षा र रोजगारीको मुद्दा लिएर आन्दोलन सुरुगरे पनि त्यस आन्दोलनले संविधान लेखन गरी उनीहरुका माग सम्बोधन गर्ने अवस्थामा पुर्‍याएको थियो । त्यसैगरी, बंगलादेश, श्रीलंका, फिलिपिन्स, आइसल्यान्डदेखि केही महिना अघि सुरुभएको इन्डोनेशियाका यी युवा आन्दोलनहरुले जब जनताले, विशेषगरी युवाहरुले, व्यवस्थाप्रति विश्वास गुमाउँछन्, उनीहरु विकल्प सिर्जना गर्छन् भन्ने प्रष्ट पारेका छन् । युवा पुस्ता भविष्यको कुरा मात्र गर्दैनन् वर्तमानमा अवस्था र व्यवस्था परिवर्तन गर्न सक्षम र निर्णायक हुनसक्छ भन्ने देखाउँछ । नेपाली जेन जी पुस्ताले पनि यही बाटो समातेको स्पष्ट देखिन्छ ।

के हो नेपालको जेन जी आन्दोलन

जेन जी पुस्ता डिजिटल सञ्जालमा हुर्केको, प्रविधिसँग खेलेको, राष्ट्रिय/अन्तर्राष्ट्रिय सूचना भएको र प्रवृत्ति बुझेको पुस्ता हो । स्कूलमा अध्ययनरतदेखि विश्वविद्यालयसम्मको अध्ययन पुरा गरिसकेको यो पुस्ता मुलुकको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशको प्रष्ट ज्ञान भएको पुस्ता हो । सामान्यत: आफ्नो काम तथा व्यवसायमा फोकस्ड रहने यो पुस्ता विगत केही वर्षदेखिको मुलुकको अवस्थाबाट चिन्तित थियो । कुशासन, भ्रष्टाचार, बेरोजगारी र अविकासको निरन्तर शिकार बनिरहेको यो पुस्ताले सामाजिक सञ्जालमा आफ्नो फ्रष्ट्रेसन व्यक्त गर्ने बाहेक कुनै प्रतिक्रिया दिएको थिएन । तर, अघिल्लो सरकारले आम नेपालीले प्रयोग गर्ने मुख्यमुख्य सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगाउँदा यिनिहरुको सहनशीलताले हद पार गर्‍यो । अन्तत:, युवाहरु आफैँ संगठित र एकजुट हुन थाले । तिनै प्रतिबन्धित सामाजिक सञ्जालमार्फत नै उनीहरुले समुह बनाउने र प्रतिरोधका लागि सडकमा आउने प्रण गरे र गत सेप्टेम्बर ८ तारिकमा काठमाडौँको माइतिघरमा प्रदर्शन गर्ने योजना बनाए ।

यसरी, एकएक गरी सामाजिक सञ्जालबाट उनीहरुले सबैलाई उक्त आन्दोलनमा सहभागिता र ऐक्यबद्धताका लागि आह्वान गर्दै गए । विस्तारै, उनीहरुको पक्षमा माहोल बन्दै गयो । धेरै कलाकार, कन्टेन्ट क्रिएटर, इन्फ्लुयन्सर, सेलिब्रेटीहरुदेखि समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुले उनीहरुको यस अभियानमा ऐक्यबद्धता जनाउदै गए । जसको फलस्वरुप आन्दोलनको पहिलो दिनमै दशौँहजार जेन जीहरु सडकमा आए ।

सुरुमा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधबाट सुरुभए पनि जेन जीहरुले समाजमा व्याप्त भ्रष्टाचार, कुशासन, कमिसन र घुसखोरी संस्कृतिदेखि पद, पहुँच र शक्तिको आधारमा नेता, ब्युरोक्रेटस् र बिचौलियाहरुका सन्तानले बिताइरहेको सम्भ्रान्त जीवनशैलीको विरोध गर्दै ‘नेपो बेबी’ क्याम्पियन समेत सुरुगरेका थिए । फलस्वरुप, उनीहरुको आन्दोलन सशक्त र सफल हुन पुग्यो । आन्दोलनमा अहिलेसम्म ७० जना भन्दा धेरैकोे ज्यान गइसकेको छ भने सयौँ युवाहरु घाइते भई अस्पतालमा उपचाररत छन् । आज, जेन जीहरुले आफूले रोजेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन सफल भएका छन् भने आफ्ना एजेन्डा कार्यन्वयनका लागि नयाँ सरकारसँग निरन्तर पैरवी गरिरहेका छन् । प्राप्त उपलब्धिका लागि हाम्रा जेन जीहरुलाई धेरैधेरै धन्यवाद र बधाई छ ।

अबको बाटो

आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकारले राजिनामा दिएर जेन जीको माग अनुसार पूर्व प्रध्यानन्यायाधिश सुशिला कार्कीको नेतृत्वमा चुनाव सम्पन्न गर्नका लागि अन्तरिम सरकारको गठन भएको छ । हुनत यो सरकारको प्रमुख काम तोकिएको मिति भित्र निष्पक्ष र धाधलीरहित चुनाव सम्पन्न गर्नु रहेको छ । तर, त्यस बाहेक पनि यो सरकार र युवा पुस्ता मिलेर दीर्घकालिन परिवर्तनका लागि केही ठोस काम गर्न सकिएन भने अहिलेको आन्दोलन, त्याग र बलिदानको अर्थ रहने छैन ।

आन्दोलनले केही पुराना भौतिक संरचना भत्काएपनि पुरानो संस्कार र सिस्टम जिवित नै छ । पुरानो ब्युरोक्रेसी र उनीहरुको पुरानो सोँच जिवित छ । पुरानो सिस्टममा हालीमुहाली गर्ने विचौलिया र उनीहरुका नाइकेहरु जिवित नै छन् । त्यसैले निर्वाचन अघि नै यो पुरानो सिस्टम, संस्कार र संस्कृति भत्काउन पर्ने मुख्य जिम्मेवारी अहिलेको सरकार र युवाहरुको काँधमा रहेको छ । हामीलाई व्यवस्था होइन अवस्था बदल्नु छ । मुलुकमा रोजगारीको अवसर सृजना गरी युवाहरु विदेश पलायन हुने अवस्थाको अन्त्य गर्नु छ । भ्रष्टाचार, कुशासन र विचौलियातन्त्रको अन्त्यगरी मुलुकलाई सुशासन, विकास र सम्मृद्धिको बाटोमा अगाडि बढाउनु छ ।

यसका लागि संस्थागत विकासको ढाँचा बनाउने, नीति निर्माणमा युवाहरुको सहभागिता बढाउने, युवा लक्षित र युवामैत्री कार्यक्रमहरु बनाउने गरी सिस्टम विकास गर्न जरुरी छ । तबमात्र, निर्वाचनपछि नयाँ युगको उदय हुनेछ । नेपाल नयाँ पुस्ताको नेतृत्वको युगमा मात्र प्रवेश गर्ने छैन, भविष्यका कर्णधार र वर्तमानका निर्णायक शक्तिका हातमा पुग्नेछ । जेन जीहरुले उठाएका मुद्दाहरु भ्रष्टाचारको अन्त्य, सुशासन र जवाफदेही नेतृत्व, रोजगारी र अवसरमा सबैको पहुँचसहितको नयाँ नेपाल निर्माणको युग प्रारम्भ हुनेछ ।