काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिद ओम्नी ग्रुपसँगको सम्झौता भंग गर्दै तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । बिहीबार स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो ।
कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी खरिद सम्झौता भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
‘सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको छ । सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन्’ श्रेष्ठले भने ।
सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ । महानिर्देशक श्रेष्ठका अनुसार खरिद प्रकियामा चासो देखाएर पाँचवटा कम्पनी आएका थिए । निजी कम्पनीले पहिलो खेपमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउनेछन् ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार प्रयोगशालासम्बन्धी सामान खरिदका लागि शुक्रबार या शनिबार छुट्टै सम्झौता हुनेछ ।