काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेन–जीको माग सार्वजनिक निकायका लागि मात्र नभएर निजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि भएको बताएका छन् ।
उनले आफूले यो सन्देश निजी क्षेत्रका प्रतिनिधिमूलक निकायहरु र व्यवसायीहरुलाई दिएको स्पष्ट पारेका छन् ।
अर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत् स्वयम् घोषणाका आधारमा भन्सार मूल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट सुरु गरिएको र व्यवसायीको सहयोग भए सबै भन्सारमा लागू गर्ने जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेनजीको माग सार्वजनिक निकायका लागि मात्र होइन, नीजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि हो ।
आज बिराटनगरमा यो सन्देश सशक्त भाषामा निजी क्षेत्रका प्रतिनिधिमूलक निकायहरू र व्यवसायीहरूलाई दिएको छु ।
यस सन्दर्भमा भन्सार प्रशासनको इतिहासमा पहिलो पटक स्वयम् घोषणाको आधारमा भन्सार मूल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली बिराटनगर नाकाबाट प्रारम्भ गरिएको छ ।
यसले व्यापारको लागत घटाउने छ, अवान्च्छित लेनदेन शून्य पार्ने छ, व्यवसायीलाई इमान्दार हुन सहयोग गर्ने छ । विराटनगर नाकामा लागू भएको यो प्रणाली सफल पार्न व्यवसायीको सहयोग भएमा निकट भविष्यमा यो प्रणाली सबै भन्सारमा लागु हुने छ ।
यो प्रणालीमा राजस्व चुहावट जोखिम नियन्त्रण गर्न ‘विद्युतीय रिस्क इन्जिन’ सञ्चालन हुने छ र शंका लागेका कारोबार व्यवसायीको गन्तव्यमै पुगेर छानबिन हुने यसले राजमार्गमा ट्रक रोकेर दुख दिने काम बन्द हुनेछ ।










