१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मजदुर सडकमा, तर चुनावका वेला बसमा भरेर मान्छे उतार्ने नेता कहाँ ?



अ+ अ-

काठमाडौ । पसिना बगाउन र देश बनाउन सहर पसेका मजदुर लकडाउनले अलपत्र परे, भोकले छटपटाउँदै राजमार्गमा निस्किएका यात्रुलाई खाना खुवाउन ठाउँठाउँमा स्थानीय आफैँ जुटे । तर, चुनावका वेला बसका बस भरेर मान्छे ओसार्ने राजनीतिक दल भने कुनै दृश्यमा देखिएका छैनन् ।

चुनाव आउन पाएको हुँदैन, राजनीतिक दलका नेताले बसका बस बुक गरेर हजारौं कार्यकर्ता गाउँमा उतार्छन् । त्यस्तै जनताको मतको आधारमा शक्तिमा पुग्न प्रतिस्पर्धा गर्ने दलका नेताहरू सहरमा मजदुर अलपत्र पर्दा तमासे छन् ।

सरकारले लकडाउन घोषणा गरेर घरभित्रै बस्न आदेश दिएको छ, तर हजारौं मजदुरले तलब पाएका छैनन, छाक टार्न सकेका छैनन् । सहरमा अलपत्र परेपछि ताँति लागेर गाउँ फर्कदैछन् । भोकले छटपटाउदै राजमार्गमा निस्किएका यात्रुलाई खाना खुवाउन ठाउँठाउँमा स्थानीय आफै जुटेका छन् । स्वतस्र्फुत सेवामा जुटेका यी मनकारी भन्छन– दाल चामलको मूल्य होला, तर मानवसेवा अमूल्य छ ।

अहिले ठाउँठाउँमा व्यक्ति, समूह र संस्थाहरूले खाना, खाजा, पानीदेखि चप्पलसम्म बाँडिरहेका छन् । कतिपयले गाडीको व्यवस्था गरेर थकितहरूको यात्रा केही छोट्याइदिएका छन् । केही मनकारीले आफ्नै क्षेत्रमा समस्यामा परेका विपन्नलाई राहत बाँडिरहेका छन् ।

चितवन सदरमुकाम भरतपुरको पुल्चोकमा स्थानीय उद्यमी युवाले बटुवालाई सोधीखोजी गर्दै खाना खुवाइरहेका छन् । भोकै–तिर्खै घरतिर लम्किँदै गरेकाहरूलाई २३ चैतदेखि खाना खुवाउँदै आएका छन् । उनीहरूले स्थानीय प्रहरीको सहकार्यमै खाना वितरण गरिरहेका छन् ।

युवा दाताराम घिमिरेका अनुसार साकाहारी बिर्यानी, रोटी र तरकारी खुवाइएको छ । एक व्यक्तिले एक बोतल पानी पनि पाउँछन् । ‘लकडाउन कायम रहेसम्म सेवालाई निरन्तरता दिनेछौँ,’ घिमिरेले भने । झापा, दोलखा, धादिङ, काठमाडौं, दैलेख, बर्दियालगायत जिल्लामा हिँडेकाहरू पुल्चोकमा भेटिने गरेको उनले बताए ।
युवाहरूले पुल्चोकमै अटोमेटिक स्यानिटाइजिङ मेसिन पनि राखेका छन् । बटुवा तथा अत्यावश्यक काममा सवारीसाधन लिएर हिँडेका यात्रुहरूलाई पूरै शरीर शुद्धीकरण गरी पठाउने उद्देश्यले मेसिन राखिएको घिमिरेले बताए । मेसिनमा एकपटकमा चारजना छिर्न सक्ने र १० सेकेन्डमा सबै शुद्धीकरण हुने उनले बताए ।

‘सफा सुन्दर हरियाली गैँडाकोट’ अभियानले बुटवाहरूका लागि राजमार्गस्थित भृकुटी चोकमा खाना वितरण गरिरहेको छ । हालसम्म पाँच सय बटुवालाई खाना खुवाएको संयोजक गणेश सापकोटाले बताए । फ्राइड राइस, तरकारी र पानी वितरण गरिरहेको छ ।

गैँडाकोट नगरपालिका– २ नारायणीनदीको पुलनजिकै लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्रकोे संयुक्त पहलमा समस्यामा परेकाहरूलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त सडकमा उनीहरूले दैनिक बिहान ८ देखि राति १० बजेसम्म बटुवालाई चाउचाउ, बिस्कुट र पानी वितरण गर्दै आएका छन् ।

काठमाडौंबाट पूर्वको यात्रामा लम्किएकाहरूलाई सिराहाको मिर्चैया र बन्दीपुरमा स्थानीयले खाजाका पोका बाँडेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका– २ बन्दीपुरमा स्थानीय युवा र मिर्चैया नगरपालिकामा स्थानीय व्यवसायीले चाउचाउ, बिस्कुट र पानी सहयोग गरेका हुन् ।

‘पैदलयात्रुलाई खाजाको व्यवस्था’ लेखेरै उनीहरूले खाएर जान आग्रह गरेका छन् । चाउचाउ, पानी र भुजा वितरण गरिएको बन्दीपुरका स्थानीय युवा जितेन्द्र यादवले बताए । आफूहरूले खाना नै खुवाउने योजना बनाए पनि प्रहरीले अनुमति नदिएपछि खाजा सहयोग गरेको यादवले बताए । बुधबारदेखि तीन सय पैदलयात्रुले खाजा खाएको उनले बताए । नयाँ पत्रिकामा समाचार छ ।