१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा वन मासिँदै



अ+ अ-

गोपालप्रसाद बराल, महोेत्तरी । लकडाउनको बेलामा वन सम्पदा मास्ने क्रम बढेको छ ।

महोत्तरीमा लकडाउन जारी गरिएको चैत ११ यता १३० क्यूवी फिट अवैध कटान गरिएका साखु (साल)का गिण्डा (टोन, गोलिया, गिँड) डिभिजन वन कार्यालय महोत्तरीले बरामद गरेको छ । पछिल्लोपटक बर्दिवास नगरपालिका–११ खयरमारामा लुकाइछिपाइ राखिएको १०० क्यूवी साखुका गिण्डा बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभएको हो । बरामद काठ यसै साता काटिएका रुखको भएको साहको भनाइ छ ।

“हामीले बर्दिवास–११ का बिल्टु ठाकुरको घर र नजिकैको आँप बगैँचाबाट १०० क्यूवी फिट साखुका गिण्डा बिहीबार बरामद गरेका छौँ”, साहले भन्नुभयो, “यसअघि गत चैत मध्यताका ३० क्यूवी फिट साखुका गिण्डा बरामद गरिएको थियो ।” यसैगरी लकडाउन अवधिभित्रै साखुका छ इञ्च मोटा र चारफिट चौडा फलेक ३० थान बरामद गरिएको कार्यालयले जनाएको छ । त्यस्ता फलेक चोरेर ओसार्न प्रयोग गरिएका दुई मोटरसाइकल, एक टेम्पु र २४ साइकलसमेत बरामद गरिएको साहले बताउनुभयो । टोलीले वनमा चोरी कटान गर्नेहरुले काटेका रुखको पहिचान गरिएको जनाएको छ ।

लकडाउन अवधिमै वनमा डढेलो लगाउने क्रम पनि ह्वात्तै बढेको छ । पछिल्लो समयमा वन क्षेत्रमा रुख काट्ने, डढेलो लगाउने र वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेपछि यसै साता तीनवटा टोली बनाएर सघन वन गस्ती परिचालित गरिएको कार्यालयले जनाएको छ ।

“वनमा जताततै डढेलो बढेको छ, यसले मानवीय क्षतिसँगै बहुमूल्य काठ हुने बिरुवा डढेर ठुटा भएका छन्”, साहले भन्नुभयो, “पछिल्लो लकडाउन अवधिभित्रै २०० हेक्टरमा लागेको डढेलो निभाउन सक्यौँ ।” अहिले डढेलो नियन्त्रणका लागि विशेष तालिम लिएका वन सुरक्षा सैनिक तैनाथ गरिएको उहाँको भनाइ छ । गत बुधबारमात्र बर्दिवास–१० को खयरमारास्थित सरस्वती सामुदायिक वनमा लागेको डढेलोले त्यहीँकै ७० वर्षीय हर्कबहादुर वाइवाको ज्यान गएको घटना स्मरण गर्दै साहले डढेलो रोक्न स्थानीय पहलकदमी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

पछिल्लो एक सातायता वन सुरक्षा टोलीले चारवटा निलगाई र एक चित्तललाई उद्धार गरी घना वन क्षेत्रमा छाडेको छ । यसैगरी जारी लकडाउन अवधिमै बर्दिवास–५ माईस्थानमा वनक्षेत्र अतिक्रमण गरी बनाइएको काठेघर वन सुरक्षा टोलीले अतिक्रमणमुक्त गराएको साहले बताउनुभयो । यसैगरी लकडाउन अवधिमै नदीजन्य सम्पदा (बालु–ढुङ्गा) अवैध उत्खनन गर्ने पनि सक्रिय देखिएका छन् । पछिल्लोपटक गौशाला नगरपालिकामा पर्ने मरहा नदीमा बालु–ढुङ्गा उत्खनन गर्नेहरुले २५ फिटभन्दा गहिरा खाल्डा खनेर नदीजन्य सम्पदा निकाल्ने क्रम बाक्लिएको छ ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वन, नदी, पहाडी शृङ्खलाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको संयुक्त सुरक्षा टोली परिचालित गरिएको बताउनुभयो । प्राकृतिक सम्पदामाथि हुने आक्रमण, अतिक्रमण र कटान तथा उत्खनन रोक्न सम्बन्धित स्थानीय तहको पहलकदमी बढ्न जरुरी भएको खत्रीको थप भनाइ छ ।