काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रश्नै–प्रश्न गरेका छन् ।
खरेलले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै महासंघका महासचिव दाहालले सामाजिक सञ्जालमार्फत् पत्रकार, आगजनी र तोडफोडमा सञ्चार गृह, सञ्चार उपकरण र सवारी साधन लुटिएको वा आगजनी गरिएका विषयमा के गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
त्यसैगरी श्रमजीवी पत्रकारको नियमित पारिश्रमिक, दशैं खर्च, लोककल्याणकारी विद्यालयलगायतका विषयमा पनि प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
मित्र पत्रकार मन्त्री Jagdish Kharel लाई बधाई । अचाक्ली खुसीसंगै मेरो प्रश्न:
१. जेनजी आन्दोलनमा गोली खाएका र कर्म गर्दागर्दै घाईते भएका पत्रकार, आगजनी र तोडफोडमा परेका संचार गृह, संचार उपकरण र सवारी साधन लुटिएका वा आगजनी गरिएका सन्दर्भमा के गर्नुहुुन्छ ?
२. देशका सबै श्रमजीवी पत्रकारले नियमित पारिश्रमिक, बक्यौता र दशै खर्च पाउँछन् ? नदिने संचार गृहलाई के गर्नुहुन्छ ?
३. मिडियाले सरकारबाट पाउने भुक्तानी दशैं अगावै दिलाउनु हुन्छ ? लोक कल्याणकारी विज्ञापन अब अनलाइन, रेडियोले पनि पाउँछन्?
४..अबरुद्ध मौलिक हक खोलेर अनलाइन दर्ता, नवीकरण र संचालनको वातावरण कहिले बन्छ?
५. प्रेस काउन्सिलले अनलाइन बन्द र पत्रकार पक्राउ गर्न लेख्ने पत्र अब लेखिन्न ?
६. युटुव संचालनको व्यवस्था गर्नुहुन्छ ?
७. आर्थिक रूपमा जर्जर संचार क्षेत्रका लागि के गर्नुहुन्छ ?
८.पत्रकारको न्युनतम पारिश्रमिक नबढेको आठ वर्ष भयो, बढाउन र कार्यान्वयन गराउन सक्नुहुन्छ ? साथै पत्रकारलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्द गराउन के गर्नुहुन्छ ?
९. प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने ध्येयले ल्याइएका र ल्याउन लागिएका नीति के गर्नुहुन्छ ?
१०. नागरिकको सूूचना र अभिव्यक्ति स्वतन्त्रता थप फराकिलो बनाउन सक्नुहुन्छ ?
जवाफको प्रतिक्षामा !!!










