काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना निको भएर शनिबार घर फर्किएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत दोस्रो कोरोना भाइरस (कोभिड–१९) संक्रमित २७औं र धौलागिरि अस्पतालमा उपचाररत ६५ वर्षीया महिला १७औं दिनमा घर फर्किएका हुन् । १९ वर्षीया प्रसिद्धि श्रेष्ठले भिडियो सन्देशमार्फत सरकारलाई धन्यवाद दिएकी छन् । यस्तै, ६५ वर्षीया महिलाको अन्तिम दुईपटक कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ ।
श्रेष्ठ गत ४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपाल आएपछि गरिएको परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो । लगत्तै ९ चैतमा उनी अस्पताल भर्ना भएकी थिइन् । १० चैतमा स्वास्थ्य मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनमा संक्रमण देखिएको जानकारी दिइएको थियो । उनीसँगै कतार एयरलाइन्सबाट आएका १ सय ५६ जना सम्पर्कमा आइसकेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ३१ पुगेको हो । चीनको वुहानबाट आएका ३२ वर्षीय युवकमा गत १० माघमा संक्रमण पुष्टि भएको थियो । दोस्रोपटक उनको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । उनी पनि निको भएर घर फर्किसकेका छन् । हालसम्म पहिलो संक्रमित, दोस्रो र बागलुङकी ६५ वर्षीया महिला संक्रमित घर फर्किएका हुन् । २८ संक्रमित चिकित्सकको निगरानीमा छन् ।
हालसम्म १९ हजार ४ सय ५४ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका अस्पतालमा १ सय १७ जना आइसोलेसनमा उपचाररत छन् । पाँच जना उपत्यकाभित्र र १ सय १२ जना उपत्यकाबाहिरका अस्पतालमा उपचाररत छन् । अहिलेसम्म ४ हजार ५ सय ५३ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।
सबैलाई परीक्षण गर्न सुझाव दिन्छुः प्रसिद्धि
काठमाडौं । म ४ चैतमा नेपाल आइपुगें । सुरुमा मलाई संक्रमणको केही लक्षण देखिएको थिएन । घर आइसकेपछि म सेल्फ आइसोलेसनमा थिएँ । घर आएको चौथो दिनमा भियतनामी साथीले सम्पर्क गर्दै परीक्षणका क्रममा आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको बताइन् । त्यसै दिन म टेकु अस्पताल पुगें । त्यतिबेला संक्रमणको खासै लक्षण देखिएको थिएन । दुई दिनपछि रिपोर्ट पोजेटिभ देखिएको रहेछ । अस्पतालमा २७ दिन बसें । रिपोर्ट देख्नेबित्तिकै अस्पतालबाट घरमा तुरुन्तै एम्बुलेन्स पठाइएको थियो ।
चिकित्सकहरूले पनि तिमी चिन्ता नलिऔ भनेर सान्त्वना दिनुभयो । अस्पतालले गरेको सेवाप्रति म पूर्ण सन्तुष्ट छु । टेकु अस्पताल आएको एक–दुई दिनपछि लक्षण देखिन थाल्यो । श्वास फेर्न अप्ठेरो, पेट दुख्ने, थकाइ चाँडै लाग्ने र खोकी लाग्थ्यो । म सेल्फ आइसोलेसनमा बसेकी थिएँ । त्यही भएर पनि संक्रमण फैलिन पाएन । सबै जना सेल्फ आइसोलेसनमा बस्नुपर्छ ।
म सबै जनाले कोरोना परीक्षण गर्न र सेल्फ आइसोलेसनमा बस्नुस् भन्न चाहन्छु । जसले गर्दा कोरोना संक्रमण फैलिन पाउँदैन । सबै जनालाई मास्क, ग्लब लगाउन पनि सुझाव दिन्छु । राजधानी दैनिक