काठमाडौं । शनिवार एकैदिन दुई जना कोरोना संक्रमित भाइरसमुक्त भएका छन् । काठमाडौंकी १९ वर्षिया युवति र बाग्लुङकी ६५ वर्षिया महिला कोरानामुक्त भएका हुन् । शनिवार दुवै जनाको परीक्षणको रिपोर्ट लगातार दोस्रो पटक नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । योसँगै नेपालमा कोरोनाबाट निको हुने संख्या तीन पुगेको छ । फ्रान्सबाट कतारको दोहोहुँदै फर्किएकी काठमाडौं मैतिदेवीकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २७ दिनको अस्पताल बसाईपछि शनिवार उनि डिस्चार्ज भईन् । डिस्चार्ज भएपनि केही दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।
चैत ४ गते काठमाडौं आईपुगेकी उनिमा परीक्षण गर्दा चैत १० गते कोरोना पुष्टि भएको थियो । चैत ९ गतेदेखी नै उनि टेकु अस्पतालमा भर्ना गरेर आइसोलेसनमा राखिएको थियो । बेल्जियमबाट फर्किएकी ६५ वर्षीया महिला पनि कोरोना मुक्त भएकी छन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो ।
धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई शनिवार साँझ डिस्चार्ज गरिएको निर्देशक डा. शर्माले बताए । ‘उहाँलाई डिस्चार्ज दिएपछि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने छ,’ उनले भने, ‘हामी फलोअप पनि गरिरहन्छौं ।’ उनी चैत १९ देखि आइसोलेसनमा थिइन् । दम र उच्च रक्तचापको विरामी भएकाले औषधि खाइरहेकी थिइन् । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतिजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी चैत १५ देखि आइसोलेसनमा छिन् । दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए ।
यसअघि चीनबाट फर्किएका एक विद्यार्थी पनि कोरोनाबाट निको भएर घरमा छन् । उनी नेपालको पहिलो कोरोना संक्रमित व्यक्ति पनि हुन् । चीनबाट आएका उनको स्वाब परीक्षण गर्न हङकङ पठाइएकोमा माघ १० गते संक्रमण पुष्टि भएको थियो । डिस्चार्ज भएर घरमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालमा फेरि भर्ना गरियो । उपचारपछि नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइएको हो । दोस्रो संक्रमित देखिएको भोलिपल्टदेखि सरकारले लकडाउनको समेत घोषणा गरेको थियो । शनिबार डिस्चार्ज भएपछि श्रेष्ठले चिकित्सक र स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिएकी छिन् । उनले सरकारलाई समेत बढी भन्दा बढी मानिसलाई आइसोलेसनमा राख्न सुझाएकी छिन् । कोरोनामुक्त भएकी ६५ वर्षिया महिलाले पनि आफूले संसारलाई नै हल्लाएको रोगलाई जितेको बताइन् ।
घर फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उनले भनिन, ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’ आफूलाई अस्पताल नआइकनै ठीक हुन्छ जस्तो लागेको उल्लेख गर्दै उनले अगाडी भनिन्, ‘डाक्टर र नर्सहरुले मेरो धेरै सेवा गर्नुभयो । दैनिक तीन/चार लीटर तातो पानी पिउने र पीर चिन्ता नलिइकन बस्दा निको भएछ ।’ घरपरिवार र छिमेकीले दिनदिनै फोन गरेर शुभकामना दिएको लागेझैं भएको उनले बताइन् । डाक्टर र नर्सले दैनिक ३ पटक भेटेर औषधि खुवाउने गरेको समेत उनले बताइन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमा तीन जना निको भएर घर फर्किएका छन् भने २८ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन् । संक्रमितहरूमध्ये विराटनगरको कोरोना अस्पतालमा १२, नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, टेकु अस्पतालमा १, पाटन अस्पतालमा २, धौलागिरि अञ्चल अस्पतालमा १ र सेती प्रादेशिक अस्पतालमा ५ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबै २७ जनाको अवस्था सामान्य नै रहेको छ । सौर्य दैनिक