काठमाडौं । चीनले अर्को सातादेखी नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । नेपालसँग जिटूजी (सरकारबाट सरकारले) सम्झौता भएपछि एक साताभित्र स्वास्थ्य सामग्री उपलब्ध गराउने जानकारी दिएको छ । स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौतापत्रमा नेपाली सेनाले अन्तिम सम्झौता गरेर पठाएको छ । सम्झौतापत्रमा कोभिड–१९ सँग लड्नका लागि चीनबाट ६७ प्रकारका करिव ३ सय ४० टन स्वास्थ्य सामग्री ल्याउने उल्लेख छ । बैशाख ३ गते परराष्ट्र मन्त्रालये तीन पटक भिडियो कन्फ्ररेन्स गरेपछि चीनबाट खरिद गरेर ल्याउने औषधि र स्वास्थ्य सामग्रीको सूचि टुंगो लागेको थियो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले आफ्नो तर्फबाट सम्झौतामा हस्ताक्षर गरेर पठाएको बताए ।

‘सम्झौतामा हामीले हस्ताक्षर गरेर पठाएका छौं । उताबाट पनि हस्ताक्षर भएपछि रकम पठाउने हाम्रो काममात्र बाँकी रहन्छ’, उनले भने । चीनले रकम पठाएको सात दिनदेखी स्वास्थ्य सामग्री पठाउने प्रतिबद्धता जनाएको प्रवक्ता पाण्डेले बताए । हामीले पैसा पठाएको सात दिनभित्र स्वास्थ्य सामग्री पठाउने प्रतिबद्धता चिनियाँ पक्षबाट भएको छ । कुनै समस्या नभए सम्भवत सोमबार हामीले पैसा पठाउँछौं’, प्रवक्ता पाण्डेको भनाई छ । अर्थ मन्त्रालयले रक्षाको अनुरोध अनुरुप गत विहिवार नै बजेट स्विकृत गरिदिसकेको छ । बजेट स्विकृत गरेपछि सेनाले औषधिको विवरण सम्वन्धित देशमा पठाएको थियो । सेनाले चीनबाट पीपीई सहित ६७ प्रकारको उपकरण र केही औषधी ल्याउन लागेको हो । प्रवक्ता पाण्डेका अनुसार चिकित्सकका निम्ति सुरक्षित पहिरन पिपीई, एन–९५ मास्क र पीसीआर जाँचको निम्ति आवश्यक रसायन आदि रहेका छन् ।
सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए । ३ सय ४० टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ । चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ । त्यहाँबाट नेपाल सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर ल्याउनेछ ।ग्वान्जाओमा सामग्री धेरै समय राख्न नसकिने भएकाले त्यहा ल्याउने वित्तिकै विमानबाट नेपाल ल्याउने योजनामा सेना रहेको छ । विश्वका अधिकाशं देशले चीनबाट स्वास्थ्य सामग्री खरिद गरिरहेका बेला सो विमानस्थलबाट एक देशको सामग्री अर्को देशले लैजाने गरेको समाचार पनि आईरहेका छन् ।
ठुला शक्ति राष्ट्रले निक्कै ठुलो धनराशी खर्च गरेर सामग्री लैजान सक्ने आशंकाले सेनाले सामान ल्याउन पूर्वतयारी अवस्थामा रहने जानकारी दिएको छ । यसैबीच, स्वास्थ्य सेवा विभागले पनि तीन वटा कम्पनीसँग झन्डै ३० करोडको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको छ । वैशाख ५ गते गरिएको सम्झौताअनुसार दुई साताभित्र ती सामग्री आइपुग्ने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले जानकारी दिए । कतिपय स्वास्थ्य सामग्री आइसकेको पनि डोटेलले बताए । उनले जिटुजी मार्फत नेपाली सेनाले ल्याउन सक्ने स्वास्थ्य सामग्री र आवश्यकताको आधारमा सम्झौता गरिएको जानकारी दिए । स्वास्थ्य सामग्री कति चाहिन्छ भन्ने अध्ययन गरेर सम्झौता गरिएको उनको भनाइ छ ।
आफूसँग भएका सामग्री दिइसकेको र दिन बाँकी क्रमशः ल्याउँदै जाने र सम्झौताअनुसार दिँदै जाने ओम सर्जिकलले जानकारी दिएको छ । ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजारको सम्झौता भएको छ । सौर्य दैनिक








