२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुली सर्ट हुँदा धादिङमा गाउँ नै जल्यो, दुई जनाको ज्यान गयो



अ+ अ-

काठमाडौं । ग्रामीण धादिङमा बिजुली सर्ट हुँदा दुईजनाको ज्यान भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । करिब आधा दर्जन मानीसहरु गम्भीर घाइते पनि भएका छन् । अहिलेसम्म दुईजनाको मृत्यु भएको र ६/७ जनालाई उपचारका लागि लगिएको थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले जनाकारी गराइन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाउने तयारी गरिरहेको बताए । ‘हामीलाई राती खबर आयो, ट्रान्समिटर पड्किएको भनिएको छ । फेरि धेरै परपरका घरहरु समेत जलेका छन् भन्ने आएको छ, हामी प्रहरी र प्राविधिक टोलीलाई पठाउने तयारी गर्दैछौु ‘ रेग्मीले भने । अहिले पानी परिरहेको र बाटो चिप्लो भएका कारण प्रहरीको गाडी घटनास्थलसम्म पुग्न नसक्ने भन्दै उनले प्रहरी र प्राविधिकलाई हिँडेरै पठाउन लागेको जानकारी दिए । सो गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ ।

मृतकको पोस्टमार्टम र घाइतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसहितको टोली खटिएको छ । मृतकको शव अहिले खानीखोला प्रहरी कार्यालयमा ल्याइएको छ । घाइतेहरुलाई भने अस्पताल पठाइसकिएको छ ।