१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथको जात्रा पनि अन्योलमा



अ+ अ-

काठमाडौँ । सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के गर्ने भनी अझै टुङ्गो लाग्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदा अर्थात् आगामी वैशाख १२ गते मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्ने भए पनि अहिलेसम्म रथ निर्माण हुन सकेको छैन । ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन् भन् गुठीले यो समयमा रथ निर्माण गर्न नसकिने बताएको छ ।

पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने स्थानसम्म बनाएर परम्परालाई निरन्तरता दिन सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । सरकारको निर्णयानुसार सामाजिक दूरी कायम गरेर पनि रथ निर्माण गर्न सकिने उहाँले बताउनुभयो । देवता राख्ने स्थान बनाइएपछि विधिअनुसार आगामी १२ गते रथारोहण गर्न सकिन्छ । रथारोहण गरेपछि रथयात्रा लकडउनपछि जनजीवन सामान्य भएपछि गर्न सकिने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “सङ्कटको समय भएकाले रथयात्रापछि गराउन सकिन्छ ।”

झण्डै १६ वर्ष पहिलेदेखि रातो मच्छिन्द्रनाथको मूल पुजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएका कपिल बज्राचार्य ७० वर्षको हुनुभयो । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उहाँको मन दुखेको छ । उहाँ २२/२३ वर्षको उमेरदेखि नै मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । विगतमा पनि धेरै वर्षमा अप्ठेरो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उहाँको अनुभव छ । अहिले माहामारीको समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ । विसं। २०७२ मा भूकम्पका कारण घरहरु भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानेजु चारजना र जजमान गरेर झण्डै १० जना भएपछि रथारोहण गर्न सकिन्छ ।”

ललितपुर वडा नं १० का अध्यक्ष नरसिंह व्यञ्जनकार सबैको धार्मिक आस्थाका रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा रोक्न नहुने बताउनुभयो । जात्राका लागि नभई नहुने थोरै व्यक्ति बसेर पनि रथारोहण गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जात्रा नै रोक्ने कुराले धेरैको मन दुखेको छ ।” ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन जात्रा नियमित हुनुपर्ने भए पनि लकडाउनका कारण जात्रा सञ्चालन गर्न समस्या देखिएको बताउनुभयो । रथ बनाउन धेरै जनशक्ति चाहिने भएकाले पनि जात्रा सञ्चालन गर्न सजिलो नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भएकाले पनि भीडभाड गर्न हुँदैन ।”

गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले लकडाउनको समयमा रथ निर्माण गर्न नसकिने बताउनुभयो । रथ बनाउन धेरै जनशक्ति चाहिने हुँदा अहिले नै निर्माण गरिने सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनपछि नै रथ बनाउने र रथारोहण गर्न सकिन्छ ।”

रातो मच्छिन्द्रनाथलाई वर्षा सहकालका देवता मानिन्छ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पार्ने नागहरूलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल परेपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुरमा ल्याएमा उनलाई मनाउन सक्ने र सहकाल लाग्ने भन्ने थाह पाएपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई ल्याउने सल्लाह गरे ।

सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरु बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो ।

समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नुन राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नुन थियो भनी जानकारी दिइयो । नुनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए ।

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाह पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनः सहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आएको छ । जात्राका प्रभावले जस्तोसुकै कठीन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ ।