२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर : काठमाडौंका मस्जिद र मदरसामा अनुगमन



अ+ अ-

काठमाडौँ । उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजिटिभ देखिएपछि काठमाडौंमा रहेका ४ वटामस्जिदहरुमा अनुगमन गरिएको छ। मुस्लिम आयोग आफैंले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, महानगरीय प्रहरी प्रमुख डीआईजी विश्‍वराज पोखरेलसहित मुस्लिम आयोगको टोलीले राजधानीका विभिन्‍न ठाउँहरुमा रहेका मस्जिद र मदरसामा अनुगमन गरेको हो।

मस्जिदमा अनुगमनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा कोही पनि लुकेर बसेको नपाइएको बताएका छन्। कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए।

मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह समेत गरेका छन्। अनुगमनपछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए।