१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकारबाट लगानीकर्ता विश्वस्त हुन सकेनन्, दोस्रो पटक नेगेटिभ सर्किट ब्रेक



अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारबाट शेयर बजारका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् ।

जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार दोस्रो सर्किट ब्रेक लागेको छ । बिहीवार शेयरबजार ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।

खुलेको दुई मिनेटमै पहिलो नेगेटिभ सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको हो । अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुने देखिए पनि फेरि सर्किट लाग्ने सम्भावना छ । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको हो ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार छँदा शेयर बजार सकारात्मक दिशामै अघि बढेको थियो । कार्की नेतृत्वको वर्तमान सरकारमा अर्थमन्त्री रामेश्वर खनाल हुनुहुन्छ, लगानीकर्ताको विश्वास जित्नेगरी काम गर्न नसके सेयर बजार निरन्तर ओरालो लाग्ने खतरा देखिएको छ ।