काठमाडौं । जेन–जी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते सञ्चार क्षेत्रमाथि विध्वंस सिर्जना गर्ने काम भयो । जेन–जीका नाममा घुसपैठ गरेर सञ्चारमाध्यममाथि धाबा बोलिएको थियो । अहिले अन्तरिम सरकार गठन भएसँगै विध्वंसमा परेका सञ्चार संस्थाहरु विस्तारै उठ्न थालेका छन् ।
आन्दोलनको पहिलो दिन पाँच पत्रकार घाइते भए भएका थिए भने एउटा सञ्चार गृहमाथि तोडफोड भयो । बानेश्वरस्थित थाहा खबरको कार्यालयमा तोडफोड भएको थियो । नेपाल पत्रकार महासंघका अनुसार सो दिन प्रदर्शनका क्रममा एक मात्रै सञ्चार गृहमा तोडफोड भएको हो ।
तर आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते सञ्चार गृहहरूले ठूलो क्षति बेहोर्नुपर्यो । पत्रकार महासंघका अनुसार राजधानीका प्रमुख सञ्चारमाध्यमसहित धेरै दर्जनौँ सञ्चारगृहमा आगलागी र तोडफोड भएको हो ।

सिंहदरबारमै रहेको सार्वजनिक प्रसारण सेवा (पीएसबी)को कार्यालयमा तोडफोड र आगजनी भएको छ । सार्वजनिक प्रसारण सेवाअन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल सञ्चालन हुँदै आएका छन् । कार्यालयमा तोडफोडकाबीच रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रसारण गरेको छ ।
त्यस्तै, थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्समा आगजनी र तोडफोड भएको छ । तोडफोडका कारण कान्तिपुरको अनलाइन संस्करण (ईकान्तिपुर) केही दिन बन्द भएको थियो तर दैनिक पत्रिकाले प्रकाशन रोकेन ।
रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनकै तीनकुनेस्थित कार्यालयमा पनि आगजनी भयो । आगजनीका कारण कान्तिपुर टेलिभिजन र रेडियो केही दिन प्रसारणमा अवरुद्ध भए पनि टेलिभिजनले शुक्रबारदेखि प्रसारण सुरु गरेको छ ।

तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड र आगजनी भएको हो । महाराजगञ्जस्थित न्युज–२४ टेलिभिजनको सवारीमाथि आगजनी र लाइभ डिभाइसहरू तोडफोड भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार राजधानी बाहिरका अन्य सञ्चार गृहमा पनि तोडफोड र आगजनी भएका छन् । इलामस्थित नेपालवाणी एफएम र इलाम एक्सप्रेस दैनिकको कार्यालयमा तोडफोड भएको हो । चितवनका तीन सञ्चारगृहमाथि तोडफोड र आगजनी भएका छन् । चितवनस्थित कालिका एफएम, सफल खबर डटकम र चुरे सन्देश गरी तीन सञ्चार गृहमा तोडफोड र आगजनी भएको हो ।
यीसँगै अन्य सामुदायिक रेडियोमा पनि देशका विभिन्न सामुदायिक रेडियोहरूमा पनि क्षति पुगेको सामुदायिक रेडियो प्रसारक संघ (एकोर्याब)ले जनाएको छ । एकोर्याबका अनुसार बुटवलको रेडियो जागरणको भवनमा तोडफोड भएको छ । त्यस्तै, दार्चुलास्थित लेकम गाउँपालिकामा सञ्चालित रेडियो लोकदर्पणको कार्यालयमा तोडफोड भएको छ ।
तोडफोड र आगजनीपछि केही दिन प्रकाशन प्रशारण बन्द गरेका सञ्चार संस्था अहिले लयमा फर्किन थालेका छन् । विस्तारै आफ्ना प्रकाशन–प्रशारण नियमित भएका छन् । तर पनि ती संस्थामा भएको भौतिक क्षतिको विवरण संकलन हुने क्रम जारी छ ।
सञ्चारमाध्यममाथि तोडफोड र आगजनी गर्ने मात्र भएन, सञ्चारकर्मीमाथि पनि ज्यातती भयो । कतिपय सञ्चारकर्मी अझै कार्यस्थलमा फर्कन सकेका छैनन् ।
पत्रकार महासंघका अनुसार रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि हातपात र आगजनीसँगै सामान तोडफोड गरेका हुन् ।
सर्लाही मंलगवामा रिपोर्टिङ गर्न पुगेका मेरो शान टिभीका पत्रकार राजिव साहलाई आन्दोलनकारीले हातपात गरेका थिए ।
भक्तपुर सूर्यविनायक चोकमा भादगाउँ टेलिभिजनका पत्रकार तुलसीकुमार त्वायनालाई आन्दोलनकारीले आक्रमण गरेको छ । भक्तपुरमै नागरिक दैनिकका पत्रकार कृष्ण केसीले खिचेको भिडियो र फोटो सुरक्षाकर्मीले डिलिट गर्न लगाएको महासंघले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा रिपोर्टिङ गर्न पुगेका पत्रकार सुदर्शन आचार्यमाथि पनि आक्रमण भएको छ । भक्तपुरकै पत्रकार केशव तिमिल्सिनामाथि पनि दुव्र्यवहार भएको हो ।
रिपोर्टिङमा गएका कतिपय पत्रकारहरूको सवारी र क्यामेरामाथि आगजनी पनि भएका छन् । पत्रकार महासंघका अनुसार बाँके कोहलपुरमा रिपोर्टिङ गर्न पुगेका संवेगन्यूज डटकमका पत्रकार नीरज निश्चललाई आन्दोलनकारीले हातपात गरेर क्यामरा खोसेर जलाएका छन् ।
त्यस्तै कैलालीको धनगढीस्थित सीटीभीटी चोकमा आन्दोलनकारीले पत्रकार दीपेन्द्र भट्टलाई दुव्र्यवहार गर्नुका साथै मोटरसाइकलमाथि आगजनी गरेको महासंघले जनाएको छ ।
कान्तिपुर टेलिभिजनका भिडियोग्राफर श्याम श्रेष्ठ पनि घाइते भएका छन् । पत्रकार श्रेष्ठ घाइतेहरूको फुटेज खिच्दै थिए । अचानक प्रहरीले गोली चलायो । उनी सुरक्षित हुन त्यहाँबाट भागे । भाग्दाभाग्दै उनको बायाँ पाखुरालाई गोलीले छुन पुग्यो ।
कान्तिपुर टेलिभिजनका समाचार प्रमुख विजय पौडेल, नायब समाचार प्रमुख रुपेश श्रेष्ठ र संवाददाता नारायण किलम्बु घाइते भएका छन् । स्टुडियोमा बसेर समाचार प्रसारण गरिरहेका उनीहरूमाथि प्रदर्शनकारीले नियोजित रूपमा हमला गरेको हो ।
सोही आक्रमणमा रेडियो कान्तिपुरका पत्रकार अनिल बोगटीमाथि पनि भीडले प्रहार गरेको थियो । रिपोर्टिङको क्रममा क्यामरापर्सन मुरारी घिमिरे माथि हातपात र दुव्र्यवहार भएको थियो ।
अर्का फोटो पत्रकार उमेश कार्की पनि घाइते छन् । उनलाई पनि पाखुरामा गोलीको छर्रा लागेको हो ।
त्यही दिन फोटो पत्रकार वर्षा शाहलाई पनि चोट लागेको छ ।
जेन–जी प्रदर्शनका क्रममा हालसम्म विभिन्न स्थानमा गरी ७३ जनाको मृत्यु भइसकेको छ । देशको प्रमुख सार्वजनिक सम्पत्तिहरूमाथि आगलागी भएका छन् । विभिन्न सरकारी कार्यालयहरू क्षतविक्षत भएका छन् । त्यही प्रदर्शनको भूमरीमा परेको सञ्चार क्षेत्र भने विस्तारै लयमा फर्कंदै छ । तर सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरुलाई कानुनको कठघरामा ल्याउने काम कहिले हुन्छ ? आम जनताको प्रश्न छ ?










