काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले मन्त्रीहरुको सपथको समय तय भएको जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले हिजो साँझ तीन जना मन्त्रीको नाम सिफारिस गर्नुभएको थियो । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको बताइएको छ ।
अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।
त्यही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई मन्त्रीमा नियुक्त गरी सपथ दिलाउन लाग्नुभएको हो ।
मन्त्रीहरुको शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम भइरहेको छ ।
तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।










