सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताए।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनलाई उद्देश्यभन्दा फरक ढङ्गले प्रयोग गर्नु निन्दनीय भएको र तोडफोड र आगजनीको जिम्मेवार को हुने भन्ने विषयले थप अन्यौलता सिर्जना गरेको बताए ।
मुख्यमन्त्री कँडेलले गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरूलाई समेत भड्काएर घटना गराइएको जिकिर गरेका छन्। उनले सङ्घीय राजधानीमा अप्रिय घटनाहरू घटेको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको बताए।
“यस घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेशसभामा भएको छ । यस्तो अवस्थामा अब कसरी काम गर्ने भनेर प्रदेश सचिव र मन्त्रीहरूसँग छलफल भएको छ”, मुख्यमन्त्री कँडेलले भने ।
उनले आज क्षतिग्रस्त सरकारी कार्यालयको अनुगमनसमेत गर्नुभएको थियो । रासस










