काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउने ‘हामी नेपाल’ संस्थाका सञ्चालक सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन हंगामामा समाप्त भएको छ ।
राष्ट्रपति कार्यालयसँग भएको वार्ताको विवरण सुनाउँदै गुरुङले सरकार माग पूरा नगरे खारेज गर्ने चेतावनी दिएपछि पत्रकारहरूले प्रश्न राख्दा वातावरण तनावग्रस्त बन्यो ।
गुरुङले केही प्रश्नहरूलाई धम्कीपूर्ण भाषामा जवाफ दिएपछि पत्रकार र गुरुङबीच वाक्कलाप बढ्दै धकेलाधकेलसम्म पुगेको थियो ।
मृतकका परिवारसँग बसेर मिडियासँग कुरा गरिरहेका गुरुङलाई एक प्रश्नकर्ताले “५१ जनाको ज्यान गएर ल्याएको परिवर्तन ६ महिने अन्तरिम सरकारका लागि मात्र हो ?” भनेर प्रश्न गर्दा उनी उत्तेजित बने । उनले “हामी फेरि आन्दोलन गर्छौं, नेताहरूलाई घरबाट निस्कनै दिँदैनौं” भन्दै कडा चेतावनी दिए ।
उत्तेजना बढ्दै जाँदा सम्मेलन कक्षमा कोलाहल मच्चियो र गुरुङ पोडियम छोडेर बाहिरिएका थिए । घटना पछि पत्रकार सम्मेलन स्थगित गरिएको थियो ।










