२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको पाँच वर्ष : पुननिर्माणको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेन



अ+ अ-

काठमाडौं । २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ ।
गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी देशभर ८ हजार ७ सय ९० मानिसको मृत्यु भएको थियो ।

यस्तै २० हजार भन्दा बढी नागरिकहरु घाइते भएका थिए । भूकम्पका कारण गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर गरी १४ लिल्लामा सबैभन्दा धेरै क्षति भएको थियो ।

भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पबाट मानविय क्षतिसँगै घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन, सडक, खानेपानी लगायतका पूर्वाधारमा खर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो । भूकम्पबाट ८ लाख भन्दा बढी निजी घर, ७ हजार ५ सय ५३ विद्यालय, १ हजार १ सय ९७ स्वास्थ्य संस्था, ९ सय २० सम्पदा, ४ सय १५ सरकारी भवन, २ सय १६ वटा सुरक्षा निकायका संरचना, ७ सय ६२ किलोमिटर सडक र १ हजार भन्दा बढीको संख्याका खानेपानी आयोजनामा क्षति पुगेको थियो । खर्बौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्प गएको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेको छैन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिले सम्म ४ लाख ९४ हजार ४४ निजी आवास निर्माण भइसकेको र १ लाख ९० हजार १ सय ४५ पुननिर्माणको चरणमा रहेको गरी ८८ प्रतिशत प्रगति भएको जनाएको छ । तर अझैपनि करिब ७० हजार निजी आवासको प्रबलीकरणको काम भने बाँकी छ । यस्तै अहिले सम्म ७४ प्रतिशत विद्यालय अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भएको र १ हजार ४ सय ९२ विद्यालय पुननिर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । १ हजार १ सय ९७ क्षतिग्रस्त स्वास्थ्यसँस्था मध्ये अहिलेसम्म ६ सय ६९ वटाको पुननिर्माण सम्पन्न भएको छ भने १ सय ४५ पुननिर्माणको चरणमा छन् । ३२ जिल्लामा क्षतिग्रस्त ९ सय २० सम्पदा मध्ये ४ सय २ वटाको मात्र पुननिर्माण सम्पन्न भएको छ भने १ सय ४१ पुननिर्माणको चरणमा छन् ।

तर महत्वपूर्ण धरोहरहरु धरहरा, रानीपोखरी, काष्ठमाण्डप, सिंहदरबार, नुवाकोट दरबार लगायतका सम्पदाहरुको पुननिर्माणको काम भने अझै बाँकी छ । ४ सय १५ सरकारी भवन मध्ये ३ सय ४९ वटाको पुननिर्माण भएको छ । ४९ वटा पुननिर्माणको चरणमा छन् । यस्तै १ सय ९४ सुरक्षा निकायका संरचनाको पुननिर्माण सम्पन्न भइसकेको र २२ वटा पुननिर्माणको चरणमा छन् । यस्तै ७ सय ६२ किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म ४ सय ४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भइसकेको छ । यस्तै खानेपानी तर्फ १ हजार खानेपानी योजनाको पुननिर्माण सम्पन्न भएको छ भने १ सय वटा पुननिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।