२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी, आजै नियुक्त हुने, संसद् विघटनमा भने अझै कुरा मिलेन



अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ । जेन–जी समूहबाट प्रस्तावित कार्कीलाई प्रधानन्यायाधीश बनाउने समझदारी भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन् । तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न नसक्दा कार्कीको नियुक्तिमा ढिलाइ भएको छ । सम्भवत: आजै कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्ने छिन् ।

अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानका विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच गएराति साढे १० बजेदेखि करिब साढे ४ घण्टा वार्ता भएको थियो ।

वार्तामा कार्कीले संसद् जीवित रहँदै गैरसांसदलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गर्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखेकी थिइन् । राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भए पनि संसद् विघटनको सवालमा सहमत भएका छैनन् ।

अन्तरिम सरकार र संसद् विघटनका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्ने विषयमा लामो छलफल भएको थियो । संवैधानिक व्यवस्थाका विषयमा प्रश्न नउठोस् भनेर भएको छलफलमा राष्ट्रपति र पूर्वप्रधानन्यायाधीशबीच धेरै विषयमा समान धारणा बनेको छ । आज ९ बजेपछि बस्ने बैठकमा सहमति भएर नियुक्त पक्रिया सुरु हुने स्रोतको दाबी छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीसँग छलफल गर्नुपूर्व राष्ट्रपति पौडेलले संविधानविद्, सभामुख देवराज घिमिरे, जेन–जी विद्रोहपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललगायतसँग परामर्श गरेका थिए ।

संविधानको विद्यमान व्यवस्थाअनुसार प्रधानमन्त्री हुन पहिलो सर्त नै प्रतिनिधिसभा सदस्य हुनुपर्छ । त्यसैले संसद् बाहिर रहेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई कुन प्रक्रियाबाट प्रधानमन्त्रीमा नियुक्ति गर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग बिहीबार लामो परामर्श गरेका थिए ।

राष्ट्रपतिको निमन्त्रणामा शीतल निवास पुगेका संविधानविद्हरू विपिन अधिकारी, भीमार्जुन आचार्य, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, सूर्य ढुंगेल, ललित बस्नेत र राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले संविधानभित्रकै विकल्पबाट समाधान खोज्न सुझाव दिएका थिए । संविधानलाई टेकेर प्रधानमन्त्री नियुक्ति गर्दा प्रणाली बच्ने उनीहरूको तर्क थियो ।

संविधानविद्हरूले राष्ट्रपतिलाई संविधानको धारा ६१ (४) अन्तर्गत निकास खोज्न सकिने सुझाव दिएका छन् । त्यसमा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ ।

संविधानविद्सँग छलफल गर्नुपूर्व राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख घिमिरे, दलका नेताहरू, पूर्वप्रधानमन्त्रीलगायतसँग परामर्श गरेका थिए । प्रमुख दलका नेता तथा सांसदहरूले प्रतिनिधिसभा विघटन गर्न नहुने सुझाव राष्ट्रपतिलाई दिएका थिए ।

आन्दोलनरत जेन–जी समूहले प्रधानसेनापति अशोकराज सिग्देलमार्फत दबाब बढाइरहेका छन् । त्यसको बिफ्रिङ सेनापति सिग्देलले राष्ट्रपति पौडेललाई गराइरहेका छन् । प्रधानसेनापति सिग्देलले आन्दोलनरत विभिन्न पक्षका प्रतिनिधिसँग दुईपक्षीय र बहुपक्षीय छलफल गरेका थिए । त्यसपछि राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र पूर्वप्रधानन्यायाधीश कार्कीबीच संवाद भएको थियो ।

कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्ने जानकारी राष्ट्रपति पौडेलले सभामुख घिमिरेमार्फत कामचलाउ प्रधानमन्त्री ओलीसमक्ष सन्देश दिएको सभामुखनिकट स्रोतको दाबी छ ।