२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहर : सुनसान रमजान



अ+ अ-

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ ।

रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ । हिजरी संवत् १४४१ को हो भने रमजान नवौं महिना हो । यो पर्वमा विहान सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई वर्त बस्ने प्रचलन रहेको छ । यस्तै रमजानमा मुसलमानको सबैभन्दा ठूलो धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास सहित अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास पनि गरिन्छ । रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु पनि हो ।

रमदानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भएपनि यस वर्ष कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गर्दै छन् । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले लकडाउन लागू गरेकाले त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज आदा गरिदै छ । जसका कारण रमजानमा सँधै भिडभाड हुने देशभर रहेका मस्जिदहरु अहिले सुनसान देखिन्छन् ।

शनिबार काठमाडौंको घण्टाघर स्थित नेपाली जामे मस्जिद पनि सुनसान देखिन्थ्यो । मस्जिद भित्रै बस्ने केही धर्मगुरु र कर्मचारीहरुले कोरोना भाइरसका लागि अपनाइएको समाजिक दुरी कायम गर्दै नमाज आदा गरेका थिए । नपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले कोरोन भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिइएर सबैलाई घरमै बसेर नमाज आदा गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले लकडाउनको बेला अत्यावस्यक सामग्रीको अभाव भएकाहरुलाई राहत वितरण गरिएको समेत बताउनुभयो । जसबाट गर्दा रमजानमा नमाज आदा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

रमजानमा बिरामी, गर्भवती महिला र अशक्तहरुलाई रोजा बस्न छुट रहेको छ भने रोजा बस्नेहरुले निश्चित नियम भने पुरा गरेको हुनुपर्ने छ । रमजानमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।