६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बासस्थान खलबलिँदा चराको सङ्ख्या घट्ने चिन्ता



अ+ अ-

देउखुरी, (दाङ) । पछिल्लो समय यहाँ बासस्थान खलबलिदा चराको सङ्ख्या घट्दै गएको छ । यहाँ कतिपय चराको सङ्ख्या न्युन भइरहेको छ भने केही चरा लोपोन्मुख अवस्थामा पुगेका छन् । घोराही उपमहानगरपालिका–९ निवासी ७२ वर्षीया पार्वता शर्मा चराको सङ्ख्या कम हुँदै गएको बताउनुहुन्छ । उहाँँ भन्नुहुन्छ, “पहिले गाउँमा (खर) फुसका छाना हुन्थे, चराले त्यसैमा गुड बनाएर बचेरा कोरल्ने र हुर्काउने गर्थे । बिहान मिर्मिरेमा चराको चिरबिर आवाज गुन्जिँदा छुट्टै आनन्द हुन्थ्यो । कहिलेकाहीँ चराको आवाजले बिहानीको निद्रा खुल्ने गर्थ्यो ।”

उहाँलाई अझै सम्झना छ, केही समयअघि आँगनभरी थरीथरीका चारा आउथे । मङ्सिरमा आगनमा धान ल्याएपछि चराहरू झन थपिँदै जान्थे । पछिल्लो समय चराको चिरबिर कम भएको शर्माले बताउनुभयो । चराको बासस्थान खलबलिएकाले अचेल त्यस्तो आवाज खासै नसुनिने गरेको उहाँको भनाइ छ ।

घोराही उपमहानगरपालिका–६ का ६५ वर्षीय वीरबहादुर चौधरीले चराको बासस्थान घट्दै गएका कारण सङ्ख्या पनि कम हुँदै गएको बताउनुभयो । “भँगेराको चिरबिर र कोइलीको कुहुकुहु आवाज हराउँदै गएको छ । पक्की घरका कारण पनि घरमा बस्दै आएका चरा कम भएका छन् । गौथली, परेवा, भँगेरा, मैना जस्ता चराले फुसको छानोमा गुड बनाउने गर्थे । अहिले सबै घर पक्की भएपछि गुड लगाउने ठाउँको कमी भएको छ”, उहाँले भन्न्ुभयो ।

एकातिर रुख हुने स्थानमा घरैघर छन्, भएका घर पनि सिमेन्टले बनेका चरामैत्री छैनन् । जसले गर्दा समस्या आएको धेरैको भनाइ छ । चराविज्ञ आनन्द चौधरी रैथाने चराको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । चराहरू बसाइँसराइ गर्ने र आगन्तुक चरा नेपालमा आउने क्रम भने बढेको उहाँको भनाइ छ । यसरी आउने आगन्तुक चराका लागि यतै बस्ने वातावरण मिलाउनसके चराको सङ्ख्या बढ्ने चौधरीको बुझाइ छ ।

“चराहरू लामो यात्राको प्रयास गर्ने, आराम गर्ने त छँदैछ, पछिल्लो समय जलवायु परिवर्तनका हिसाबले पनि समस्या भयो । चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनास, जलवायु परिवर्तन, भौतिक पूर्वाधार पनि हुन्”, उहाँँले भन्नुभयो,“चरा खतराको सूचक मात्रै होइन, अवसर पनि हो । यिनको संरक्षणका लागि सोच्नुपर्ने आवश्यकता छ ।”

यसका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्त्वबारे आमनागरिकलाई जानकारी गराएर संरक्षण अभियान सञ्चालन गर्नुपर्ने चराविज्ञ चौधरीको धारणा छ । आगन्तुक चराका लागि अतिआवश्यक बासस्थानको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेत बनाउने विषयमा सबैले लाग्नुपर्ने उहाँको सुझाव छ । रासस