२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक छल्न खोज्दै ओली



अ+ अ-

काठमाडौँ । विवादित अध्यादेशका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक रोक्न खोजेका छन् । स्थायी कमिटी बैठक बसेमा आफूविरुद्ध माहोल खडा हुने र राजीनामा दिनुपर्ने मागसमेत उठ्ने जानकारी नेताहरूले नै दिएपछि ओलीले ‘बैठक नै नबसौं’ भन्ने आग्रह शीर्ष नेताहरूसँग राखेका हुन् । केही नेताले लिखित नै माग गरेपछि अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालयका बहुमत नेताले स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । त्यसलाई रोक्ने प्रयासस्वरूप प्रधानमन्त्री ओलीले शनिबार दिनभर पार्टी सचिवालयका र आफूनिकट नेताहरूसँग छलफल गरे ।

उनले शनिबार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेललाई छुट्टाछुट्टै भेटेर बैठकको आवश्यकता नरहेको भन्दै ‘कन्भिन्स’ गर्न खोजे । पार्टी नेताहरूको भावनाअनुसार अध्यादेश फिर्ता लिइसकेको अवस्थामा तत्काल बैठक आवश्यक नरहेको भन्दै ओलीले अन्य नेतालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरे । तर विधानअनुसार बैठक बोलाउने समय भएको र २० जना नेताले लिखित रूपमै माग गरिसकेको अवस्थामा टार्न नसकिने जवाफ नेताहरूले ओलीलाई दिएका छन् । स्थायी कमिटी बैठक बसेमा ओलीविरुद्धका बहुमतभन्दा बढी सदस्यले राजीनामा नै माग्ने तयारी गरेका छन् । बैठक बसे आफूविरुद्धको मोर्चाबन्दी झन् कसिलो हुने ओली पक्षको बुझाइ छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेताहरूसँग छलफलमा ‘यतिबेला बैठकको औचित्य के हो रु’ भन्ने प्रश्न गरेका थिए । तर अध्यक्ष दाहाल र नेपालले तल्लो कमिटीबाट लिखित पत्र नै आइसकेकाले बैठक बस्नैपर्ने जवाफ दिएका थिए । नेताहरूबाट दबाब आएकाले बैठकको मिति तोक्न दाहालले प्रधानमन्त्रीसँग प्रस्ताव गरेका थिए ।

नेकपाको विधानमा एक तिहाइ सदस्यले बैठक आह्वान गर्न माग गरेपछि बोलाउनुपर्ने प्रावधान छ । ‘प्रधानमन्त्रीज्यूले बैठक डाक्न आलटाल गरिरहनुभएको छ भन्ने हामीले सुनेका छौं, बैठक डाकिएन भने फेरि विधानविपरीतको अर्को काम हुनेछ,’ सचिवालय सदस्य झलनाथ खनालले भने, ‘यसैले दुई–तीन दिनभित्र स्थायी कमिटी बैठक बोलाउनै पर्छ ।’ प्रधानमन्त्री ओलीले शनिबार दिउँसो सबैभन्दा पहिले महासचिव पौडेलसँग भेटेका थिए । त्यसपछि उनले उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर छलफल गरे । स्रोतका अनुसार गौतमले ओलीलाई दुई दिनअघिको भैंसेपाटी बैठकको निष्कर्ष सुनाए । भैंसेपाटी बैठकले ‘ओलीले अब काम गर्न सक्दैनन्,’ भन्ने निष्कर्ष निकालेको थियो । त्यही निष्कर्ष सुनाउँदै छलफलमा गौतमले ओलीलाई ‘अब तपार्इं सक्नु हुन्न, आराम गर्नुहोस्’ भनेका थिए । पछिल्लो समय ओलीसँग चिढिएका गौतमले राजीनामा दिनुपर्छ भन्ने आशयको कुरा गरेपछि ओली आक्रोशित भएका थिए । लगत्तै ओलीले नेपाल र त्यसपछि दाहालसँग छुट्टाछुट्टै कुराकानी गरे ।

गौतमले राजीनामा दिनुपर्ने आशयको कुरा गरेर हिँडेपछि ओलीलाई आउँदो स्थायी कमिटी बैठकमा के कुरा उठाउने तयारी भइरहेको छ भन्ने झन् प्रस्ट भएको थियो । त्यसैले उनले नेपाल र दाहाललाई बैठकको औचित्यता अहिले नरहेको भन्दै नबोलाउन दबाब दिए । तर बैठक नबोलाउन नसकिने जवाफ दाहाल र नेपालले दिएपछि ओली उनीहरूसँग पनि चिढिए । गत सोमबार प्रधानमन्त्री ओलीले दुई अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर चर्को विरोध भयो । विरोध र विवादका कारण उनले शुक्रबार अध्यादेश फिर्ता लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्ने निर्णय पनि गरिसकेकी छन् । अध्यादेशकै कारण सुरु विवाद अध्यादेश फिर्ता भएपछि सल्टिनुपर्ने तर्क ओलीको छ । ‘अध्यादेशको च्याप्टरै सकिएपछि स्थायी कमिटी बैठक बोलाउनुको औचित्य के र रु’ उपाध्यक्ष गौतमसँगको भेटमा ओलीले राखेको प्रस्ताव उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘अरू इस्युमा सहकार्य र समझदारी गरेर अघि बढौं न ।’ (कान्तिपुरमा समाचार छ ।)