२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुरो त्यसो होइन, यसो हो- वामदेव गौतम



अ+ अ-


काठमाडौँ । नेकपाका नेता बामदेव गौतमले हिजो प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भएको छलफलको बिषयलाई लिएर बिभिन्न सञ्चारमाध्याममा मनमौजी किसिमले टिकाटिप्पणी भएको बताएका छन् । उपाध्यक्ष गौतमले पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको जानकारी दिएका छन् ।


आज बिहान हस्तलिखित बिज्ञप्ति जारीगर्दै नेता गौतमले समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका उल्लेख गरेका छन् । यी समस्या समाधान गर्न सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई सुझाब दिएको गौतमले प्रेशबिज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले सबैभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।
प्रधानमन्त्रीले धैर्यतापूर्वक आफनो कुरा सुन्नुभएको, थोरै बोल्नुभएकोसमेत उपाध्यक्ष गौतमको विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष गौतमको विज्ञप्तिको पूर्णपाठ निम्नानुसार छ :

प्रधानमन्त्री क.केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । हिजो वैशाख १३ गते प्रधानमन्त्री क.केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।

वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१४।०१।२०७७