७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

चिउरीको तेल पेल्न भ्याइनभ्याइ

चिउरीको तेल पेल्न भ्याइनभ्याइ
अ+ अ-

घोराही । घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उहाँलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।

दसैँ र तिहारका लागि रोटी पकाउनेदेखि ‘सिजन’मा चिउरीको तेल बिक्री गरेर दुईचार पैसा कमाउनका लागि तेल पेल्न थालेको उहाँ बताउनुहुन्छ । उमेरले ५६ वर्ष पुग्नुभएका विकले यस वर्षदेखि चिउरी पेल्नका लागि आधुनिक कोलसमेत निर्माण गर्नुभएको छ । त्यसका कारण आफूसँगै अन्य स्थानीयलाई समेत तेल पेल्न सहज भएको बताउनुभयो ।

“जङ्गलमा ठूला–ठूला रूख भएका कारण यस वर्ष धेरै चिउरी टिप्न सकेन, तर पनि एक सिजनमा रु एक लाख ५० हजार बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “चिउरीले गर्दा जीविकोपार्जनमा ठूलो भूमिका खेलेको छ ।” उहाँले यही तेलबाट दसैँ र तिहारका लागि रोटी पकाउनाका साथै तेल बिक्री गर्ने र त्यहाँबाट आएको पैसाले अन्य सामान किनमेल गर्न सहज हुने बताउनुभयो ।

उहाँले अहिले एक धार्नीलाई रु ८०० का दरले बिक्री गर्दै आउनुभएको छ । अहिले आधुनिक कोलसमेत निर्माण गरेकाले विभिन्न ठाउँबाट तेल पेल्न आउने भएकाले झन् व्यस्तता बढेको उहाँको भनाइ छ । परम्परागत कोलमा पेल्दा जनशक्ति र समय धेरै लाग्ने गरेकामा हाल भने धेरै सजिलो भएको उहाँले बताउनुभयो ।

विकले अन्यबाट किलोको रु १० मा तेल पेलेबापत लिने गर्नुभएको छ । उहाँले हाल दैनिक छ क्विन्टल चिउरीको तेल पेल्दै आउनुभएको छ । उहाँले बिजुला कुट्ने मिल समेत आफैँले राख्नुभएको छ । यसको तेल जैविक भएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको उहाँ बताउनुहुन्छ ।

घोराही–१३ तुरुन्तपुरका रामकली घर्तीले पनि चाडपर्वका लागि चिउरीको तेल पेलिसक्नुभएको छ । “विशेष गरेर दसैँ, तिहारका लागि १५ धार्नी चिउरीको तेल जोहो गरेको छु, हरेक वर्षको सिजनमा चिउरीको बिजुला टिप्ने र पेल्ने गर्दै आएका छौँ, स्वास्थ्यका लागि पनि निकै फाइदा जनक रहेकाले यसैको तेल मन पर्छ”, घर्तीले भन्नुभयोे, “त्यसैले चाडपर्वमा रोटी बनाउनका लागि मात्रै भए पनि चिउरीको तेल पेलेर राखेका छौँ ।”

घरका लागि पुर्‍याएर पनि केही तेल बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । जङ्गल गएर फल टिप्नुपर्ने, घर ल्याएर कुटेर र कोलमा पेलेर तेल निकाल्दा मेहनत धेरै लाग्ने गरेको उहाँको भनाइ छ । स्थानीयस्तरमै आधुनिक कोल निर्माण भएसँगै यहाँ मौलाकोट, लापे, धानछरे, बगाले, डुम्बर गाउँलगायतबाट मानिस तेल पेल्न आउने गरेको उहाँको भनाइ छ ।

चिउरीको तेल स्वास्थ्यका लागि फाइदासँगै पकाएका रोटी बास्ना आउने भएकाले यहाँका अधिकांश स्थानीयले दसैँ तथा तिहारका अवसरमा चिउरीको तेल पेल्ने गरेको घर्ती बताउनुहुन्छ । “अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल खाने गर्दछन्”, उहाँले भन्नुभयोे, “जसले गर्दा आजभोलि कहिलेकाहीँ चिउरीको तेल पेल्नलाई समेत पालो कुर्नुपर्छ ।”

अधिकांश स्थानीयले चाडपर्वमा घरका लागि चिउरीको तेल पेल्ने गरे पनि ठूलो परिवार हुने र मेहनत गर्ने परिवारले चिउरीको तेल बेचेर राम्रो आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ । घोराही–१३ भिउँडरका डल्ली विकले दसैँ, तिहारसँगै वर्षदिनसम्म खान पुग्ने चिउरीको तेल जोहो गर्न थालेको बताउनुभयो । घरमा पुगेपछि बिक्री पनि गर्ने गरेको उहाँले बताउनुभयो । पहिले परम्परागत कोलबाट तेल पेल्न समस्या भएको र हाल भने सहज भएको उहाँको भनाइ छ ।

“चिउरीको तेल उत्पादनका लागि मेहनत गर्नुपर्छ, तर मानिसहरू सुविधा खोज्छन्”, उहाँले भन्नुभयोे, “जसले गर्दा घर नजिकै भएको जङ्गलका फलहरू खेर जान्छन्, आजभोलि आफ्नोसँगै साथीहरूको तेल पेल्नका लागि बिहान ५ बजेदेखि राति ९ बजेसम्म पनि भ्याउँदैन ।”

अर्का स्थानीय कृष्ण गुरुङले घोराही उपमहानगरपालिकाका पहाडी क्षेत्रका विभिन्न स्थानका स्थानीयले बर्सेनि जङ्गलबाट चिउरीको फल ल्याएर तेल पेल्ने गरेका छन् । उहाँका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैतमा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ । त्यसपछि तेल पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई कोलमा हालेर पेलेर तेल निकाल्ने गरिएको उहाँको भनाइ छ ।