६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

यसरी मनाइयो मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा

यसरी मनाइयो मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा
अ+ अ-

भादगाउँ । मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वा: खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ ।

यसवर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठको इच्छाअनुसार जिब्रो छेड्ने जात्राले भक्तपुर नगरपालिकामा अवस्थित दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो । मध्यपुरथिमिमा दुई वटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्का: जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वा: खनेगु जात्रा’ ।

दुवै जात्राको आ–आफ्नै विशेषता रहेको छ । बोदेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छ भने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग ९रुट० रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वा: खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जना भन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छाएको व्यक्ति धेरै भएमा एकजना भन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ ।  यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ । सोही अनुसार गतवर्ष पनि जिब्रो छेडाएका वीरेन्द्रभक्तले काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यसवर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको हो ।

साँझ सुरु हुने जात्राको लागि मध्यपुरथिमिमा दिउँसोदेखि चहलपहल बढ्दै गएको थियो । जात्रा सञ्चालनका लागि एक महिना अघि नै कमिनायोले करिब एक फिट लामो सुइरो निर्माण गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेका थिए । यसैगरी राजदरबारको प्रतिनिधिको रुपमा काठमाडाँैंको हनुमानढोका दरबारबाट राज खड्गसमेत ल्याइएको थियो । जात्राकै लागि थिमिको सिवा साय्मी खल:ले याँमता तयार गरेका थिए । जात्राको लागि दिगुलीको प्रचण्ड भैरव अघिको डवलीमा मञ्च तयार गरिएको थियो । जात्रा सुरु गर्न एक समूहले थिमि लाय्कुको पमानायो श्यामकाजी श्रेष्ठलाई परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्गसहित लिएर आए । यही बेला जिब्रो छेडाउन तयार भएका वीरेन्द्रभक्त परम्परागत पोसाकमा सहयोगी समूहको साथमा मध्यपुरथिमि नगरभित्रका देवीदेवतालाई बत्ती दिन गइरहनुभएको थियो ।

बत्ती दिने कार्य सकिएपछि वीरेन्द्रभक्तलाई दिगुलीस्थित डवलीको मञ्चमा ल्याई पु्याएर । वीरेन्द्रभक्त मञ्चमा चढेपछि उपस्थित सर्वसाधारणले जयजयकार गरे । मञ्चमा पुगेर वीरेन्द्रभक्तले सबैलाई दुई हात जोडेर नमस्कार गर्नुभयो । वीरेन्द्रभक्त मञ्चमा पुगेपछि जिब्रो छेड्ने सुइरो र कमिनायो भने आइपुगेको थिएन । केही बेरको प्रतिक्षापछि निगालोको चिम्ता बजाउँदै एक समूहले सुइरो लिएर आए । त्यसको पनि केही समयपछि मात्र कमिनायो बाबुकाजी कमी श्रेष्ठलाई दिगुलीको डबलीमा ल्याई पुर्‍याए । त्यसपछि वीरेन्द्रभक्तलाई छोएर बाबुकाजीले वरिपरी अक्षता फूल छर्किएर देवीदेवता पुकार्नुभयो । एक महिना अगाडि बनाएको एक फिट लामो तीन मुख भएको सुइरोले बाबुकाजीले साँझ ८ बजेर ४० मिनेटको समयमा वीरेन्द्रभक्तको जिब्रो छेडिदिनुभयो ।

कमिनायोले सुइरोलाई वीरेन्द्रभक्तले टाउकोमा बाँधेको बेतलीमा अड्काइ दिनुभयो । त्यसपछि वीरेन्द्रभक्तले दुई हात जोडेर उपस्थित सर्वसाधारणलाई नमस्कार गर्दै मञ्चमा तीन फन्को लगाउनुभयो । उपस्थित सबैले पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै दिगु भैरवको पनि जयजयकार गर्नुभयोे । त्यसपछि दिउँसै तयार गरिराखेको काठ र बाँसले निर्माण गरिएको अर्धचन्द्राकारको महादीप ‘भ्ये’ काँधमा बोकेर वीरेन्द्रभक्त नगरपरिक्रमा गर्न निस्कनुभयो । वीरेन्द्रभक्त भन्दा अघि साय्मी समुदायले तयार गरिराखेको त्रिशूल आकारको याँमता लगिएको थियो । हजारौँ स्थानीय पनि वीरेन्द्रभक्तको जयजयकार गर्दै ‘ताकुँ म्ये: ख्वामसिसें भ्वय् नय्’ भन्दै नगर परिक्रमा गर्न निस्किए ।

वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवको परिक्रमा गर्नुभयो । त्यसपछि निगु पुखु:, लाय्कू हुँदै जात्राको परम्परा अनुसार क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गर्नुभयो । जात्राको परम्परा अनुसार जसले जिब्रो छेडाए सबैभन्दा पहिला आफ्नो इष्ट गणेशको दर्शन गर्नुपर्दछ । सोही अनुसार वीरेन्द्रभक्तले थास्मा गणेशको दर्शन गर्नुभएको हो । त्यसपछि बालकुमारी, शङ्खधरचोक, दक्षिण बाराही, सल्लाघारी, चोङ्गा गणेश, सिद्धपोखरी, न:पुखु हुँदैँ राति करिब ११ बजे वीरेन्द्रभक्त हजारौँं श्रद्धालुका साथ भक्तपुर दरबार स्क्वायर पुग्नुभएको थियो । चोङ्गा गणेश स्थान पुग्दा स्थानीयले नेवारी परम्परा अनुसार दही सगुन दिएर स्वागत गरेका थिए । भक्तपुरको दूधपाटीमा भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाको तर्फबाट स्वागत गर्नुभएको थियो ।

दरबारस्क्वारमा हजारौँ भक्तपुर नगरवासी वीरेन्द्रभक्तको प्रतिक्षामा थिए । वीरेन्द्रभक्त दरबारस्क्वायर पुगेपछि सबैले तालीको गडगडाहट र कलकल ध्वनीले स्वागत गर्नुका साथै जयजयकार गरेका थिए । वीरेन्द्रभक्तलाई हेर्न बाटोमा लस्करै स्थानीय बसेका थिए । भक्तपुर दरवारस्क्वायरबाट सुकुलढोका हुँदैँ राति ११।३० बजे वीरेन्द्रभक्त दत्तात्रय मन्दिर पुग्नुभयो । दत्तात्रय मन्दिरलाई तीन पटक परिक्रमा गरी उहाँ भक्तपुरको नवदुर्गा द्योछें पुग्नुभयो । त्यहाँ नवदुर्गाको दर्शन गरी पुन: दत्तात्रय, सुकुलढोका हुँदैँ उहाँ टौमढीस्थित पाँचतल्ले मन्दिर र भैरवनाथको दर्शनका लागि पुग्नुभयो ।

टौमढीबाट बंशगोपाल, सिद्धिपोखरी, चोङ्गा गणेश, निकोशेरा, नगरपालिका चोक, पाटी बिहार, गुङचिवा:, भीमसेन चोक, गणेश मावि, नगदेश, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भूलाँखेल, चोडे, निगुपुखु हुँदैं आज बिहान करिब ३ बजे बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको थियो ।

बालकुमारी परिसरमा थिमि लाय्कूका पमानायो श्यामकाजी श्रेष्ठ र पमा सूर्यलाल श्रेष्ठ वीरेन्द्रभक्तलाई पर्खेर बस्नुभएको थियो । पमानायोले वीरेन्द्रभक्तको जिब्रोबाट सुइरो निकालेर बालकुमारी मन्दिरभित्रको काठमा ठोकी दिनुभयो र वीरेन्द्रभक्तको जिब्रोमा नित्यनाथको माटोे राखेपछि जात्रा सम्पन्न भयो ।  वीरेन्द्रभक्तले जिब्रो छेडाएको यो चौंँथो पटक हो । उहाँले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाउनुभएको हो । करिब लोप हुने अवस्थामा पुगेको यो जात्रालाई जिवन्तता दिन त्यतिखेर उहाँ जिब्रो छेडाउन तयार हुनुभएको हो । उहाँले दोस्रो पटक २०७९ मा जिब्रो छेडाउनुभएको थियो, भने तेस्रो पटक गत वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको हो ।

विसं २०८० मा भने मध्यपुर थिमि–५ का बालकराम नानिचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । थिमिको इतिहास, परम्परा र संस्कृतिलाई जीवन्त राख्न आफूले जिब्रो छेड्न तयार भएको वीरेन्द्रभक्तले बताउनुभयो । “मध्यपुर थिमि जीवन्त कला संस्कृतिको धरोहर हो । यहाँको यही धरोहरलाई विश्वसामु चिनाउन जिब्रो छेडाउन तयार भएको हुँ । यसले मध्यपुरथिमिको पहिचान दिलाउन सफल हुन्छ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । उहाँले गतवर्ष पशुपतिनाथको दर्शन गरेको र यसवर्ष दत्तात्रय र नवदुर्गाको दर्शन गर्ने इच्छाभएकाले भक्तपुर गएको बताउनुभयो ।

यो जात्राको इतिहासमा दिगुलीमा जिब्रो छेडेर बालकुमारीमा आइ सम्पन्न भएको र जिब्रो छेडेर काभ्रे पनौती, भक्तपुरको चाँगुनारायण मन्दिर र पश्चिममा पशुपतिनाथ मन्दिरसम्मको यात्रा गरेको इतिहास भए पनि दत्तात्रय र नवदुर्गा मन्दिरको दर्शन गरी भक्तपुर नगरपरिक्रमा गरेको इतिहासमा पहिलो भएको पमानायो श्यामकाजी श्रेष्ठले बताउनुभयो ।

‘जात्रालाई पर्यटन प्रवद्र्धनसंग जोड्न आग्रह ’

पहिलो पटक प्रत्यक्षरुपमा जिब्रो छेडेको हेर्न मध्यपुर थिमिको दिगुली पुग्नुभएका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जात्रा अत्यन्त मौलिक र अलौकिक पाएको बताउनुभयो । उहाँले जिब्रो छेडाउनु नै साहसी कार्य भएको जनाउँदै यस्तो साहसी कार्यलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि  र जात्रा व्यवस्थापन समिति यस्तो जात्रालाई पर्यटनसँग जोडेर लैजान आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले अन्यत्र कहीँ पनि नभएको अलौकिक जिब्रो छेड्ने जात्रा नेपालको मौलिक संस्कृतिमध्ये एक भएको बताउँदै यसको संरक्षण, प्रवद्र्धन र निरन्तरताको लागि बागमती प्रदेश सरकारले प्रत्येक वर्ष रु दुई लाख दिने निर्णय गरेको जानकारी गराउनुभयो ।

जात्रा अवलोकन गर्न प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीसमेत मध्यपुरथिमि आउनुभएको थियो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गत वर्ष पशुपति पुग्नुभएका वीरेन्द्रभक्तले यसवर्ष भक्तपुर नगरपरिक्रमा गरेर यो जात्राको प्रचारप्रसारका लागि ठूलो योगदान दिनुका साथै ऐतिहासिक कार्य गरेको बताउनुभयो ।

दिनभरी मौन व्रत लिई, जिब्रो छेडेर ४० किलो भन्दा बढी वजनको भ्ये बोकेर घण्टौँसम्म खाली खुट्टा पैदल हिँड्नु आफैंँमा साहसी कार्य भएको र एउटा दैवीशक्ति नै भएको उहाँले बताउनुभयो । उहाँले वीरेन्द्रभक्त जस्ता साहसी युवाहरुको प्रेरणाले अन्य युवा पनि जात्रालाई निरन्तरता दिन तयार हुने विश्वास व्यक्त गर्दै जात्राको निरन्तरताका लागि नगरपालिकाले आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यो जात्रा मध्यपुरथिमिको मौलिक सम्पदा भएको बताउँदै यसलाई पर्यटनसँग जोडेर लैजाने प्रयास नगरपालिकाले गरिरहेको बताउनुभयो । यसरी जात्रा गर्नाले मध्यपुरथिमि क्षेत्रमा भूतप्रेतले दु:ख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दु:ख दिन थालेपछि थिमिका जनतालाई सो दु:खबाट छुटकारा दिलाउन थिमिका आराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई नातुले जिब्रो छेडाएर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको जनाउँदै भागेको जनश्रुति रहेको छ । रासस