२४ असार २०८३, बुधबार
,
Latest
वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’



अ+ अ-

मुग्लिन, (चितवन) । चेपाङ समुदायले सामूहिक रुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन् ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वाङ्गी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले  ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले चेपाङ जातिको उत्थान र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले न्वाङ्गी पर्व चेपाङ समुदायको संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण रहने बताउनुभयो । सो अवसरमा चेपाङ झाँक्री (पान्दे)लगायत चेपाङ समुदायको संस्कृतिका आधारित सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।

नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले न्वाङ्गी पर्व चेपाङ समुदायले परापुर्वकालदेखि मनाउँदै आइरहेको पर्व रहेको बताउनुभयो । पहिला गाउँगाउँमा भेला भएर मनाउँदै आए पनि विस्तारै लोप हुँदै जान थालेपछि  सङ्घको अगुवाइमा देशरभरका चेपाङलाई भेलागरी २०६३ सालदेखि सामूहिक रूपमा मनाउन सुरु गरिएको जानकारी दिनुभयो ।

चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाङ्गीका दिन घैया धानको चामल, कागुनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्नखाने दिन पनि हो ।

न्वाङ्गीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दु:ख साट्ने गर्छन् । न्वाङ्गी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो । चेपाङ समुदायले चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी सामूहिक रूपमा न्वाङ्गी मनाउँदै आएका छन् । गतवर्ष गोरखाको गण्डकी गाउँपालिकामा न्वाङ्गी मनाएका थिए ।

२०७८ सालको जनगणना अनुसार नेपालमा चेपाङ्को सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदाय देशको २६ जिल्लामा बसोबास गर्छन् ।

चितवनमा मात्रै चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजार २६८ जना छन् । न्वाङ्गीको अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ । रासस