• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता



गण्डकी । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत गण्डकी प्रदेशमा सत्ताधारी गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन् । 

पोखरा महानगरपालिका–७ पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट अन्य समूहमा तनहुँका सुरेश आलेमगर, महिलातर्फ नेपाली कांग्रेसका तर्फबाट गोर्खाका कमला पन्त र दलितर्फ माओवादीका गोर्खाका भुवन सुनारले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसैगरी नेकपा एमालेका तर्फबाट अन्यतर्फ कास्कीका पुण्यप्रसाद पौडेल, दलिततर्फ स्याङ्जाका अर्जुनकुमार सुनाम र महिलातर्फ नवलपरासीका लीला पोखरेल(थनेत)ले उम्मेदवारी दर्ता गराउनुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको निर्वाचन कार्यतालिका रहेकामा एमालेका उम्मेदवारले बिहान ११ बजे र सत्ताधारी गठबन्धनका उम्मेदवारले अपराह्न २ः३० बजे उम्मेदवारी दर्ता गराएका थिए ।

सत्तारूढ गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएअनुसार माओवादीले गण्डकीमा दुई सिट पाएको भने नेपाली कांग्रेसले एक सिट पाएको छ ।  राष्ट्रियसभामा चार वर्ष पदावधि पूरा गरेर जान लागेका सदस्यको रिक्त स्थानमा निर्वाचन हुन लागेको हो । 

गण्डकीमा माओवादी केन्द्रका अन्य समूहका दीनानाथ शर्मा, दलिततर्फ खिमकुमार विक र महिलातर्फ नेकपा ९एकीकृत समाजवादी०का शान्तिकुमारी अधिकारीको चार वर्ष पदावधि पूरा गरी आगामी फागुनमा बिदाइ हुने भएकाले उहाँहरुको स्थानमा निर्वाचन हुन लागेको हो ।

प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ । प्रदेशसभा र स्थानीय तहका मतदाताका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचन सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने व्यवस्था संविधानमा छ । 

गण्डकीमा प्रदेशसभाका ५९ र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी गण्डकी प्रदेशमा कूल २२९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ रहेको छ । गण्डकीमा कूल मतभार पाँच हजार ८९२ रहेको छ । संविधानबमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् ।