२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारीमै कुहियो तरकारी, कामदारलाई तलब खुवाउन ऋण खोज्दै किसान



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अत्यावस्यक वस्तु एवं कृषि उत्पादनको ढुवानी सहज बनाउने बताउँदै आएको छ । तर किसानहरु भने आफ्नो उत्पादन विक्री नभएर समस्यामा परेका छन् । एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन भने अर्कोतर्फ ढुवानी नहुँदा किसानहरुले लाखौंको नोक्सानी ब्यहोर्नुपरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भइसकेको छ । देशभर जारी लकडाउनको कारण सवारी आवागमन ठप्प छ । सरकारले खाद्य वस्तु एवं अत्यावस्यक वस्तुको ढुवानीमा कुनै रोक नलगाएको बताउँदै आएको छ । तर किसानले भने आफ्नो उत्पादन बजार सम्म पुर्याउन नपाउँदा समस्यामा परेका छन् । किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिएर गएको छ । चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का धनश्याम दासले २२ बिगाह जमिनमा तरकारी खेति गर्नुभएको छ । लकडाउनको कारण तरकारी विक्री नभएको भन्दै व्यापारीले तरकारी नलैजाँदा उहाँले गरेको उत्पादन बारीमै कुहिएको छ । तीन बिगाह क्षेत्रफलमा लगाएको पाटे घिरौंला प्रसस्त उत्पादन भएको छ तर विक्री नभएपछि सुकेर गएको छ । कुनै बेला एक सय रुपैयाँ प्रति किलो विक्री हुने पाटे घिरौंला अहिले सस्तोमा दिंदा समेत विक्री नभएको गुनासो उहाँको छ ।

यस्तै १० बिगाह क्षेत्रफलमा लगाएको गोलभेडा र तीन विगाहमा लगाएको लौका सहित अन्य तरकारी पनि विक्री नहुँदा कुहिएर गएको दासको भनाई छ । उहाँले लकडाउन भएयता ५ ट्रक गोलभेडा कुहिएर नष्ट भएको र अझै १० ट्रक कुहिने अवस्थामा पुगेको बताउनुभयो । उहाँले अहिले गोलभेडा १० रुपैयाँ प्रति किलोमा विक्री गर्न खोज्दा समेत विक्री नभएको बताउनुभयो ।

लकडाउन हुनभन्दा पहिले नारायणगढ, पोखरा, काठमाडौंको बजारबाट अत्याधिक माग हुने गरेको र मूल्य समेत राम्रो पाउने गरेकोमा अहिले विक्री नभएर समस्यामा परेको कृषक दासले बताउनुभयो । उहाँले तरकारी विक्री नभएपछि कामदारलाई तलब खुवाउन र बैंकको किस्ता तिर्न समेत समस्या भएको बताउनुभयो । यसअघि तरकारी उत्पादनबाटै लाखौं आम्दानी गर्दै आएकोमा अहिले कामदारलाई तलब खुवाउन समेत ऋण खोज्नुपरेको छ । लकडाउनका कारण यो सिजनमा मात्रै २ करोड रुपैयाँ सम्म नोक्सानी हुने गुनासो उहाँले गर्नुभयो ।