२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकलाख घरको छानो फेर्छौं, बैकल्पिक चक्रपथसहित नयाँ सहर बनाउँछौं : राज्यमन्त्री मानन्धर



अ+ अ-

काठमाडौं । १६ बैशाख । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत् काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापनका लागि आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने जानकारी दिएका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयमा सांसदहरुसँगको छलफलमा मन्त्री मानन्धरले प्रस्तावित टोखा(छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिएका हुन् ।

उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह,ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ । यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा-तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ ।

राज्यमन्त्री मानन्धरले नयाँ वर्षको बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिएका छन् । आगामी वर्षको बजेट मार्फत् कम्तिमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनी बसाल्ने सरकारको योजना रहेको जानकारी दिए । मन्त्री मानन्धरले सिमान्तकृत र अति विपन्न परिवारका लागि राज्यले आर्थिक सहायता मार्फत् फुस र खरको छानो विस्थापन गराई आधुनिक जस्तापाताको छानो निर्माणमा सहयोग गर्ने गरी बजेट व्यवस्थापन थालिएको जानकारी दिए ।

मन्त्री मानन्धरले कोभिड-१९ का कारण बजेट ब्यवस्थापनमा केही सिमितता रहेपनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत् कम्तिमा एक नयाँ कार्यक्रमसहित बजेट व्यवस्थापन गरिने जानकारी दिए ।

मन्त्री मानन्धरले देशभरका जनताले प्रत्याभुति गर्नेगरी सरकारले बजेट ल्याउने बताउँदै सबै निर्वाचन क्षेत्रमा समानताका आधारमा आयोजना तय गरिने जानकारी दिए ।

छलफलमा मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केही नयाँ कार्यक्रमसहित बजेटको तयारी थालिएको जानकारी दिए । सचिव अधिकारीले मन्त्रालयले चालु अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै बैकल्पिक चक्रपथ सहितको नयाँ सहर आयोजना र कम्तिमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउनेगरी बजेट आउने जानकारी दिए ।

छलफलमा सहभागी सांसदहरुले मन्त्रालयले बजेट निर्माणका क्रममा आफुहरुलाई बोलाउनु खुसीको कुरा भएको बताए । दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले यस अघि सांसदहरुलाई छलफलमा नबोलाउँदा बजेट व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै मन्त्री मानन्धरले आफुहरुलाई बोलाएर संसदीय गरिमा उच्च पारेको बताए ।

काडमाडौं ८ का सांसद जीवनराम श्रेष्ठले काठमाडौंका केही स्थान दुर्गमसरह रहेको बताउँदै प्राथमिकताका साथ कार्यक्रम ल्याउन आग्रह गरे । मन्त्री मानन्धरले १६५ वटै निर्वाचन क्षेत्रका सांसदहरुसँगको छलफल सकेर सबै क्षेत्रमा आधारीत बजेट ल्याउने बताएका छन् । बिहीबार पनि विभिन्न निर्वाचन क्षेत्रका सांसदहरुसँग छलफल गरिने मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव ओम राजबाहकले जानकारी दिनुभयो ।

छलफलमा बैतडी-१ सांसद दामोदर भण्डारी,सिन्धुली-१ का सांसद गणेश पहाडी, नुवाकोट-२ का सांसद नारायण खतिवडा बाजुरा-१ का सांसद लालबहादुर थापा, डोटीका सांसद प्रेम आले कैलाली-५ का नारदमुनि राना, नुवाकोटका सांसद बहादुरसिंह लामा लगायतका सांसदहरुको उपस्थिति रहेको थियो ।