२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

पलेँटीमा घन्किए रामकृष्ण दुवालका सृजना

पलेँटीमा घन्किए रामकृष्ण दुवालका सृजना
अ अ+ अ-

काठमाडौं: यही सप्ताहान्त नेपालयको ‘आर’सालामा सङ्गीतकार रामकृष्ण दुवालको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा दुवालले सङ्गीत भरेका एक दर्जनभन्दा धेरै गीतहरू घन्किएका थिए ।

नेपाली पहिरनमा सजिएका रामकृष्ण दुवालले दाफा गायनबाट आफ्नो कार्यक्रमको थालनी गरेका थिए । कार्यक्रमको थालनी ‘श्याम सुन्दर बसन्त बेला’ बोलको नेवारी अथवा नेपालभाषाको परम्परागत बसन्त गीतबाट भएको थियो । यस गीतमा उनले प्रदर्शन गरेको नृत्य मुद्राको धेरै दर्शकले खुलेर प्रशंसा गरेका थिए । दुवालका रचनालाई नयाँ पुस्ताका दुईजना कण्ठशिल्पी अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले स्वर दिएका थिए ।

कार्यक्रमलाई चार भागमा विभाजन गरेर प्रस्तुत भएको जानकारी पलेँटी संचालकले दिएका थिए ।

दोस्रो प्रस्तुतिमा कवि तथा गीतकार मञ्जुलको पहिलो गीतिसँग्रह ‘साइली मोरीलाई’मा रहेको गीत थियो । जसलाई दुवालले गीतकार मञ्जुललाई भेट्नु पहिले नै धुन भरेको जानकारी दिएका थिए । यसगीतलाई अभिज्ञाले गाएकी थिइन् ‘सुनैको काँइयो सुनैको थाक्रो, सुनौली मेरो केश’ बोलको गीत सुन्दै गरेकी एकजना दर्शक लगातार आँशु पुछिरहेकी देखिन्थिन् । पलेँटी संचालक आभास भन्दै गरेका हुन्छन्- ‘तीजको माहोल अझै सकिएको छैन कि जस्तो छ ?’

कार्यक्रमको तेस्रो प्रस्तुतिमा युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘मङ्गलमान’ को छोटो अंश रहेको थियो । जुन खण्डकाव्यलाई रामकृष्ण दुवालले धुन भरेर युगकवि समक्ष नै सुनाएको जानकारी गराएका थिए ।

‘मङ्गलमान’ युगकवि सिद्धिचरण श्रेष्ठले आफू जेलमा बस्दा भेटेका विद्रोही पात्र हुन् । जसको आधारमा कविले खण्डकाव्य नै सृजना गरेका छन् । विद्रोही मङ्गलमानको चरित्रबाटै ‘ब्याक टु मङ्गलमान’ भन्ने उक्ति प्रचलित रहेको हो । अहिले नकारात्मक रुपमा प्रयोग हुने गरे पनि खासमा ‘ब्याक टु मङ्गलमान’ भन्ने उक्तीले- सँधै विद्रोही बनिरहनु,  भन्ने भाव बोकेको छ । यो गीत बेनुपको स्वरमा गुञ्जेको थियो ।

सङ्गीतकार दुवालको सम्पूर्ण साङ्गीतिक व्यक्तित्वलाई समेट्ने ध्येयले आयोजना भएको पलेँटीमा उनले गरेका सबै खाले सृजनाहरू समावेस भएको भान पर्थ्यो । नेपालभाषाको (नेवारीको) सुरुवाती टेली चलचित्र ‘चिप: निप:’मा प्रयोग भएको गीत ‘जाकी निगचा फोनेति बजय्’लाई नेपाली भाषामा अनुवाद गरेर प्रस्तुत गरिएको थियो ।

यसपछि कार्यक्रमले अर्को मोड लिएको थियो । यो चरणमा सङ्गीतकार रामकृष्ण दुवालले सृजना गरेका र धुन भरेका बालगीत प्रस्तुत भएका थिए । जसमा गीतका रचना-गर्भबारे दुवाल र कार्यक्रम संचालकबीच रोचक वार्ता भएको थियो ।

स्कुलमा गीत, सङ्गीत र नृत्य सिकाउँदाको विगत सम्झँदै गर्दा सङ्गीतकार रामकृष्ण दुवाल अतीतमै डुबे झैँ देखिन्थे । यसक्रममा ‘बाँसुरीको धुनसँगै गाउन हामी थाल्छौं’, ‘पढ्नु भनेको के हो नानी’, ‘नेपालका हामी साना बालबालिका’ बोलका गीत प्रस्तुत हुँदा गीतकार रामबाबु सुवेदी र दुर्गालाल श्रेष्ठसँग सम्बन्धित प्रसङ्गहरू पनि निक्लिएका थिए । बालगीतकै क्रममा कवि दुर्गालालको शब्दमा रहेको नेपाल भाषाको बालगीत ‘इमु छम ल्येँ दु’लाई नेपालीमा ‘एउटा कमिला माटोमा’ बनाई सुनाइएको थियो ।

छन्द कवितालाई समेत आत्मसात् गर्दै कार्यक्रमलाई अघि बढाइरहेका रामकृष्ण दुवालले सामाजिक उत्तरदायित्वका गीत पनि प्रस्तुत गरेका थिए । गीतकार श्याम तमोटले रचेको ‘हेर आज नेपाली बसाइँ हिंडेको’ गीतले विगतको नेपाललाई चित्रण गरेको थियो । तर त्यो सुन्दा वर्तमानकै यथार्थ हो कि जस्तो भान हुन्थ्यो ।

कार्यक्रम सञ्चालक भनिरहेका हुन्छन्- ‘देशमा राजनैतिक परिवर्तन भए पनि सत्ताको मानसिकतामा पुरानै प्रवृत्ति कायम रहेपछि कवि-कलाकारहरू विद्रोही बनिरहन्छन् र आफ्ना सृजनाले समाजलाई झकझकाइरहन्छन् । ‘एक जुगमा एकदिन एकचोटी आउँछ’ गोपाल प्रसाद रिमालको सदाबाहर विद्रोही गीत हो ।’

नेपाल भाषाको दाफा गायनबाट सुरू भएको पलेँटीको अन्तिम खण्डमा फेरि नेपाल भाषाकै गीत प्रस्तुत भएका थिए । यस चरणमा निक्कै वर्षदेखि लोकप्रिय रहँदै आएको ‘सिर्साया हेकू’ बोलको लोकगीत प्रस्तुत भएको थियो । अभिज्ञा घिमिरेले केही दिनको अभ्यासमा आफूलाई बोल्नै नआउने भाषाको गीत गाइरहेकी थिइन् । ‘सिर्साया हेकू’ गीत टुङ्गिनासाथ दर्शकदिर्घाबाट तालिको गडगडाहटसँगै ‘वान्समोर’को आग्रह ओइरिएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा नेपाल भाषाका दुईवटा रचनाहरू प्रस्तुत भएका थिए । ‘हे मन मेले वने छाय्’ बोलको गीत प्रस्तुतिपछि रामकृष्ण दुवालले एउटा ऐतिहासिक रचना सुनाएका थिए । भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लले आफू काशीबास जानु पहिले यो गीत रचेको भनाइ रहेको छ । काशी निर्वासित हुँदैगर्दा चन्द्रागिरीको उचाइमा बसेर रणजीतले सो गीत सृजना गरेको र त्यसको धुनलाई आफूसँगै रहेका कुनै मानन्धरलाई सिकाएको भनाइ रहेको छ । धुन सिकाइसकेपछि रणजितले तिनै मानन्धरलाई उपत्यकामा फर्केर गीतको प्रचार गर्न अह्राएको सन्दर्भ उल्लेख गरिएको थियो ।

यो गीतमा रणजित मल्लले आफ्नो मातृभूमि छोड्नुपर्दाको विरह समेटेका छन् । कार्यक्रम संचालकले अन्तिम मुगल सम्राट बहादुर शाह ‘जफर’ले वर्मा निर्वासनमा सृजना गरेको उर्दू गजलका दुई हरफ उल्लेख गरे –

कितना है बदनसीब ‘ज़फर’ दफ्न के लिए,

दो गज़ ज़मीन भी न मिली कू-ए-यार में

त्यसपछि रणजित मल्लको गीतका दुई हरफ-

हाय हाय ! राम राम कसरी बिर्सौं यो नेपाल

मित्र रुपका दुर्जनबाट पारिएँ आज म बेहाल

माथिका हरफ उल्लेख गर्दै आभासले बहादुर शाह ‘जफर’भन्दा ७३ वर्ष पाका रणजित मल्ल र जफरको भोगाइ र अनुभूति उस्तै रहेको धारणा राखे ।

गीतको समापनसँगै भावुक बनेका रामकृष्ण दुवालले छेउमै रहेको हाते रुमाल निकाले र पसिना पुछे झैँ गरि रसिला गह पनि पुछे । यसपालीको पलेँटी भावुक मोडमा समापन भयो ।

कार्यक्रम सकेर ‘आर’शालाबाट बहिरिएका दुई साहित्यकार नारायण वाग्ले र कवि श्रवण मुकारुङ बातमारिरहेका हुन्छन्  – ‘भावुक बन्नलाई भाषा नै कहाँ चाहिँदो रैछ र रणजितको ठाउँमा आफैँलाई राख्दा त झण्डै झण्डै रोइपठाइन्छ कि झैँ पो भो त ।’ श्रवण खुलेर हाँसिरहेका हुन्छन् । श्रवणको अनुभूतिमा सहमत हुँदै नारायण वाग्ले भनिरहेका हुन्छन- ‘सङ्गीत आफैँ शक्तिशाली भाषा हो नि !’

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ तबलामा मिलेश तण्डुकार, बाँसुरीमा मिलन घिमिरे, प्रकशनमा पारशमणि सुबेदी, गिटारमा प्रविण पुलामी मगर, बेस गिटारमा कृपेश लोहनी, कीबोर्डमा  सुनिल सिंहको साथ रहेको थियो ।

आगामी सेप्टेम्बर महिनाको पलेँटीमा प्रसिद्ध कण्ठशिल्पी ज्ञानुराणालाई निम्त्याइएको जानकारी नेपालयले गराएको छ ।