९ आश्विन २०८१, बुधबार
,
Latest
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा १५ मा दैनिक १७ सय ५० जनालाई भोजन, मेयर शाक्य र संघीय संसद सदस्य श्रेष्ठबाट निरीक्षण



अ+ अ-

काठमाडौं महानगरको वडा १५ ले दैनिक औसतमा १७ सय ५० व्यक्तिलाई खाना खुवाइरहेको छ । यस अघि ४ ठाउँबाट सामुहिक मेस चलेकोमा आजबाट अन्नपूर्ण चोकमा थप गरेर ५ ठाउँबाट सामुहिक खाना खुवाउने प्रबन्ध गरेको छ । कोरोना संक्रमणबाट हुन सक्ने महामारी रोक्न सरकारले गरेको लडकडाउनका समयमा दैनिक खाना खान समस्या पर्नेहरुलाई लक्षित समूह बनाएर चैत्र २९ गते स्वयम्भू भुइँखेलबाट खाना खुवाउने काम शुरु गरिएको हो । यस ठाउँबाट अहिले पनि औसतमा दैनिक ६०० व्यक्तिले खाना प्राप्त गरिरहेका छन् । यससँगै बुद्धपार्कबाट दैनिक ३५० जनालाई, चमतीबाट ४०० जनालाई खाना खुवाइँदै आएको छ । वडाको श्रोतमा स्थानीय दाताहरुले उपलब्ध गराएको सामाग्री मिलाएर सञ्चालन भइरहेको सामुहिक मेसको आज महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र संघीय संसद सदस्य जीवनराम श्रेष्ठले निरीक्षण गर्नुभयो ।

भुइँखेलबाट शुरु गरिएको निरीक्षण बुद्ध पार्क, अन्नपूर्ण चोक र जर्मन क्वाटर पुग्यो । भुइँखेलमा भएको भान्छा चलाउन स्थानीय क्षेत्रीय निजी बिद्यालयहरुको संस्था पिजाले ४० बोरा चामल, २ बोरा दाल, २ बोरा चना, ५० लिटर तेल, नुन सहयोग उपलब्ध गराएको छ । त्यसै गरी बिद्युत बिक्री संघले १० सिलिण्डर ग्याँस, चामल, दालसहित करीब १ लाख रुपैयाँको खाद्य सामाग्री उपलब्ध गराएको छ । निरीक्षणका क्रममा भेटिएका दाताहरुसँग मेयर शाक्यले – के तपाईले स्वेच्छाले सहयोग गर्नुभएको हो? यता सहयोग गर्न अरुबाट आफैंले सहयोग लिनुभएको त छैन नि? लगायत प्रश्न गर्नुभएको थियो । खानासँग के के दिने गरिएको छ? खानाको गुणस्तर कसरी कायम गराउनुहुन्छ? वितरण गर्दा व्यक्ति—व्यक्तिबीचको भौतिक दुरी कसरी कायम गराउनुहुन्छ? जस्ता जिज्ञासा राख्नुभएको थियो । त्यसपछिको प्रतिक्रियामा उहाँले भन्नुभयो – राहत र सहयोगका नाममा कुनै पनि प्रकारका बिवृत नहुन् भन्नेमा हामी सचेत छौं । अरुलाई राहत दिने अरुसँगै सहयोग माग्ने यस अघिका नमीठा अनुभव हामीसँग ताजै छन् । सहयोग गर्न चाहनेको सहयोग लिन्छौं र वडाको एउटै ढोकाबाट वितरण गर्छौ, उहाँको भनाइ थियो ।

सामुहिक भान्छामा तयार भएको खानेकुरा कुनै होटल, रेष्टुरेन्ट वा होस्टेलभन्दा कम छैन । खानाखानेहरुमा सन्तुष्ट भएको पाएँ । मेयर शाक्यले थप्दै भन्नुभयो — मानवीय भावनाले रातदिन खटेर धेरै व्यक्तिहरु सक्रिय भएको देख्दा खुशी लागेको छ । उहाँहरुमा लाभको भावना होइन सहयोगका भावना छ । यसरी महानगरलाई सहयोग गर्ने सबैप्रति म आभारी छु । दैनिक कमाइ खाने र अरुको सहयोगमा मात्र खान पाउनेहरु लकडाउनका समयमा भोकै नरहुन् भनेर वडाले गरेको काम राम्रो हो । अनुगमनपछि प्रतिक्रिया दिँदै संघीय संसद सदस्य जीवनराम श्रेष्ठ भन्नुहुन्छ — मानवीय यस काममा जनप्रतिनिधिसँगै जनता पनि आफैं सहभागी भएका छन् । यो सकारात्मक पक्ष हो । दाताहरु स्वतःस्फूर्त आउनुभएको छ । यसलाई लकडाउन सकिएको कम्तीमा पनि ३ दिन पछिसम्म चलाउन पाइयो भने असहायहरुलाई पुनस्र्थापना हुन सजिलो हुन्छ । हामीले तयार गरेको भान्छामा जो जो आउनुहुन्छ, उहाँहरु सबैलाई खुवाउँछौ । वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्नुहुन्छ – व्यक्ति/व्यक्तिबीचको सामाजिक भौतिक दुरी मिलाउँछौं ।

आउनेको ज्वरो मापन गर्छौ, व्यक्तिलाई निसंक्रमण गराउँछौं र खाना खुवाउँछौं । यो क्रम कहिलेसम्म चल्छ त? प्रश्नको उत्तरमा डंगोल भन्नुहुन्छ — सरकारले जारी गरेको लकडाउन अवधिभरि निश्चित नै खुवाउँछौं । त्यसपछिको अवस्था हेरेर थप गर्ने कि नगर्ने भनेर निर्णय लिन्छौं । निरीक्षणका क्रममा वडा सदस्यहरु र स्वयम्सेवकहरु पनि सहभागी हुनुहुन्थ्यो । महानगरका अन्य वडाहरुले पनि सामुहिक भोजनको व्यवस्था गरेका छन् । महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार आजसम्ममा १ लाख बढी मानिसहरुलाई खाना खुवाइसकिएको छ । त्यस्तै ८५ हजार जनाभन्दा बढीलाई राहत सामाग्री उपलब्ध गराइसकिएको छ ।