१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही-३ उपनिर्वाचन, रास्वपाबाट डा लेखजंग थापा उम्मेदवार



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि डा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

रास्वपाको आज बसेको सचिवालय बैठकले डा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । डा लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुनुहुन्छ ।

यसअघि डा थापासँगै कुसुम महर्जन, मधु अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवालले प्रारम्भिक उम्मेदवारका रुपमा दावी पेस गर्नुभएको थियो ।

आकाङ्क्षी सबै प्रत्यासीसँग रास्वपा नेतृत्वले एकल तथा सामूहिक छलफल र अन्तर्वार्ता लिएको थियो । रास्वपाका सबै प्रत्यासीहरुले आजै ललितपुरस्थित नख्खु कारागार पुगेर पार्टी सभापति रबि लामिछानेसँग भेट गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद दीपक बोहराको निधन भएपछि आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा उपनिर्वाचन हुन लागेको हो ।

को हुन् डा लेखजंग थापा ?

भैरहवाको सि.न.पा.-९, अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् ।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।

एक विद्वान चिकित्सकको छबि बनाएका डा. थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । जसले अन्तर्राष्ट्रिय जगतमा उनको बेग्लै पहिचानसमेत बनाएको छ ।

नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टीमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत स्वीकृत गरेको छ । यो प्रोटोकल नेपालको स्ट्रोक उपचार व्यवस्थापनमा कोशेढुंगा बन्ने निश्चित छ ।

अन्तर्राष्ट्रिय जगतको समेत विश्वास जितेर अलग्गै पहिचान बनाएका डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धि तालिम दिँदै आएका छन् । यसरी मृत्युको दोस्रो कारणका रुपमा रहेको स्ट्रोकको प्राथमिक उपचारलाई नेपालको दुरदराजमा पुर्याउन उनको ठूलो योगदान छ ।

प्रेरणादायी युवा अभियानकर्ताको बेग्लै परिचय बनाएका डा. थापाले युवाहरुमा उत्प्रेरणात्मक इनर्जी भर्दै आएका छन् । उनी काठमाडौंको व्यस्त जीवनशैलीलाई छल्दैं डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमी भैरहवा पुगेर बिरामी सेवाको गर्दै आएका छन् । साथै, हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा उनले स्वास्थ्य सेवा दिँदै आएका थापाले यहाँका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोषसमेत स्थापना गरेका छन् ।

समाज परिवर्तनको हुटहुटी बोकेका डा. थापा रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको एक प्रारम्भिक उम्मेदवार हुन् । रोगको उपचारमा तल्लीन डा. थापा अब देशको उपचार गर्ने बाटोतर्फ अग्रसर भएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् ।