बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समाजमा द्वन्द्व र हिंसाको अन्त्य गरी शान्तिपूर्ण समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।
हेटौंड उपमहानगरपालिका–१४ लक्ष्मीचौकस्थित साङ्गदो पाल्की गुम्बा र गण खड्केश्वर मन्दिरको आज शिलान्यास गर्दै उहाँले भगवान् बुद्धको शान्ति र अहिंसाको सन्देशलाई मनन गर्दै शान्तिपूर्ण समाज निर्माणमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।
धर्म, संस्कृति र सम्पदाको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले धर्म व्यक्तिको आस्थाको विषय भएकाले सबैले आफ्नो संस्कृतिअनुसार शान्तिपूर्वक मान्नुपर्ने बताउनुभयो ।
उहाँले सामाजिक सद्भाव र विकासमा राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री बानियाँले चुनाव हारजितको खेल भएकाले समाजिक सद्भाव र विकासमा यसको छायाँ पर्न दिन नहुने जिकिर गर्नुभयो ।
“चुनावका बेला फरक फरक विचार, फरक झन्डा र चुनावबाट जनतामा गए पनि चुनाव सकिएपछि सबै एकजुट भएर विकास र समृद्धिको यात्रामा जुट्नुपर्छ”, उहाँले भन्नुभयो,“सबै राजनीतिक दलको साझा ‘एजेन्डा’ विकास र समृद्धि भएकाले यसलाई मूर्तरुप दिन सबै एकजुट भएर लागौँ ।” रासस










