काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भदौ २९ देखि अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि विभागको प्रमुख को बन्नान् भन्ने चर्चा सुरु भएको छ ।
विभाग प्रमुखको प्रतिस्पर्धामा दुई जना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रहेका छन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरु टेकेन्द्र कार्की र ओमराज जोशीलाई विभाग प्रमुखका प्रतिस्पर्धी मानिएको छ । उनीहरु दुवै एकै पटक सेवा प्रवेश गरेका हुन् ।
जोशी कञ्चनपुरका स्थायी बासिन्दा हुन् भने कार्की कर्णाली विकट जुम्ला निवासी हुन् । अब हुने नेतृत्व २०८५ भदौसम्म कायम रहनेछ ।
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतको निकाय हो । फितलो गुप्तचरी सेवालाई मजबुत बनाउन सरकारले विशेष सेवा विधेयक अगाडि सारेको छ । त्यसको संवेदनशीलतालाई दृष्टिगत गर्दै आगामी अनुसन्धान विभाग प्रमुख चयन गर्नुपर्ने कारले कार्यसम्पादन मा राम्रो भएको ब्यक्ति चयन गर्नुपर्ने छ ।
विश्व परिवेशको भूमण्डलीकरणका सूचनाहरू प्राप्त गर्न सक्ने त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधिको तयारी गर्दै गरेका कार्कीलाई नेतृत्वमा लैजानुपर्ने आवाज उठिरहेको छ । विभागकै कर्मचारीहरु पनि सहजै नेतृत्व सम्हाल्न सक्ने अफिसरको भएकाले सरकारले कार्कीलाई नेतृत्व दिन सक्ने बताइरहेका छन् ।
देशका विभिन्न भागमा निर्वाधरूपमा विदेशी जासुस एजेन्सी छिरेको र स्वदेशका गुप्तचरी सूचनाको चुहावटलाई नियन्त्रण गर्ने कुरासँग अनुसन्धान विभाग प्रमुखको नियुक्ति सम्बन्धित रहेको स्रोतको भनाइ छ । २०८४ भित्र सम्पन्न हुने विभिन्न तहका निर्वाचन सुरक्षासँग पनि यो नियुक्तिले सरोकार राख्ने स्रोत बताउँछ ।
कार्की विभागमा इमानदार, मेहनती र काबिल, भविष्यको नेतृत्व समाल्न सक्ने अफिसरको रुपमा चिनिन्छन् ।
हालको अनुसन्धान विभागको ऐन, नियमावली र कार्यविधिले नयाँ प्रमुख चयनका निम्ति ज्येष्ठतालाई आधार मानेको छैन । अनुसन्धान निर्देशकदेखि मुख्य अनुसन्धान निर्देशकसम्म नियुक्तिको प्रक्रिया अनुसन्धान विभागको नियममा कार्यसम्पादन, कार्यक्षमता, प्राज्ञिक स्तरलाई आधार मानेको छ । त्यस आधारमा कार्की अगाडि छन् ।
राज्यको नियन्त्रणमा रहनुपर्ने गुप्तचरी तथा चुस्त सूचना प्रणालीलाई व्यवस्थापन गर्न सरकारले आवश्यकताअनुसार फोन ट्यापिङलगायतका व्यवस्था प्रस्तावित गरेको छ । त्यसको व्यवस्थापन र परिचालन अनुसन्धान विभागका आगामी प्रमुखले गर्नुपर्ने चुनौती छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्किएपछि भावी नेतृत्वको निर्णय गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।










