१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइती नेपालद्वारा एक वर्षमा १८ जनाको उद्धार



अ+ अ-

झापा। मानव बेचबिखनविरुद्ध पूर्वीनाकामा सक्रिय माइती नेपालले एक वर्षमा हराएकामध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो ।

माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी गरी फेला पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना नेपालभित्रै फेला परेका हुन् ।

पूर्वीनाका काँकडभिट्टामा निगरानी गर्दै आएको माइती नेपालले मानव बेचबिखनको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

आव २०८०/८१ मा ६२ हराएको निवेदन आएकामा १६ जना भेटिएका कार्यालयले जनाएको छ । भारततर्फ जोखिमपूर्वक जान लागेका एक सय ६८ जनालाई सो अवधिमा सीमाबाट फर्काइएको थियो ।

“वैदेशिक रोजगारी र विवाहको नाममा परिवारलाई थाहै नदिई भारत जानेहरू हराएको भनेर आफन्तले भन्ने गर्नुहुन्छ”, प्रमुख घिमिरेले भन्नुभयो, “हराउनेहरू अधिकांश महिला हुने गरेका छन् । खोज्दै जाँदा कतिपय मानव बेचबिखन गर्ने गिरोहको शिकार भएको पाइन्छ भने कतिपय अलपत्र परेर भौतारिरहेको अवस्थामा भेटिनुहुन्छ ।” भेटिएका व्यक्तिलाई अभिभावकले कार्यालयमा आएर जिम्मा बुझेर लैजाने गरेका उहाँले जानकारी दिनुभयो ।

परिवारबाट विरक्तिएर जानेहरू भारततिरै रोजगारी गरेर लुक्ने र कतिपयले नयाँ घरजम गरेर बस्ने भएकाले हराएकामध्ये धेरैजसो नभेटिएका घिमिरेको भनाइ छ । उहाँका अनुसार माइती नेपालद्वारा पूर्वीनाका काँकडभिट्टामा तैनाथ गरिएको टोलीले भारततर्फ जान लागेका संदिग्ध बालबालिका, किशोरी र महिलाको नियमित निगरानी गर्दै आएको छ ।

आव २०८१/८२ मा जोखिममा परेर भारत जान लागेका एक सय ५८ जनालाई संस्थाले सम्झाइबुझाइ नाकामा रोकेर घर फर्काएको छ । नाकाबाट लुकीछिपी गएका चार जनालाई भारतबाट उद्धार गरेर ल्याइएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगतको तुलनामा पूर्वीनाकामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीको निगरानी कडा रहेको छ । चेलीबेटी बेचबिखन रोकथामको क्षेत्रमा काम गर्दै आएका माइती नेपालसहित सरोकार भएका सङ्घसंस्थाले सुरक्षा निकायसँग सहकार्य गरिरहेका उहाँले जानकारी दिनुभयो ।

पूर्वीनाकामा कडाइ भए पति मानव बेचबिखनमा सक्रिय बिचौलियाहरूले झापाको सीमावर्ती गौडा र सहायक मार्गहरु प्रयोग गर्न थालेको घिमिरेले बताउनुभयो । दक्षिणका भेगका गौरीगञ्ज, कचनकवललगायत ग्रामीण क्षेत्रका सडक प्रयोग गरेर मानव तस्करीका गतिविधि हुनसक्ने भएकाले स्थानीयले  चासो बढाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । स्थानीय सचेत भई कसैमाथि शङ्का लागेमा तत्काल प्रहरी वा सरोकार भएका निकायमा जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो ।

आव २०८१/८२ मा माइती नेपालको काँकडभिट्टा कार्यालयले दुई वटा बलात्कार र सात वटा घरेलु हिंसाका घटना सम्बन्धित निकायमा दर्ता गराएको छ । आव २०८०/८१ मा दुई वटा बलात्कार र १४ वटा घरेलु हिंसाका घटना दर्ता भएका कार्यालयले जनाएको छ ।रासस