१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आयोगको आग्रह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्व प्रभावितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेको छ ।

आयोगले नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था अझै पनि सार्वजनिक हुन नसकेको विषयलाई गम्भीर रूपमा लिएर उक्त प्रकिया निषकर्षमा पुर्‍याउन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बेपत्ताविरुद्धको अन्तरराष्ट्रिय दिन (अगस्त ३०)का अवसरमा आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न समेत माग गरेको छ ।

“बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले प्रभावितलाई विश्वासमा लिएर निष्पक्ष, विश्वसनीय र सक्षम रूपमा कार्य गर्न, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न/गराउन, यस आयोगका सिफारिसहरू कार्यान्वयन गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “बेपत्ता पार्ने कार्यमा संलग्न भएका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन र पीडितका परिवारलाई न्याय तथा परिपूरणको सुनिश्चितता गर्न आयोग नेपाल सरकार र सम्बन्धित सबै पक्षलाई निर्देशन गर्दछ ।”

विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा हुनलाग्दा पनि शान्ति सम्झौताबमोजिम बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक नहुनु र प्रभावितहरू लामो समयदेखि न्यायको पर्खाइमा रहिरहनु भनेको चिन्ताको विषय हो ।

विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भएता पनि हालसम्म स्थिति सार्वजनिक नहुँदा प्रभावित परिवारको सत्यतथ्य जान्न पाउने अधिकार, सांस्कृतिक अधिकार र राहत तथा क्षतिपूर्तिको अधिकारसमेत उल्लङ्घन भएको आयोगको ठहर छ ।

“बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगमा परेका उजुरीहरूमा आयोगले छानबिन गरी दोषीलाई कारबाही, प्रभावित परिवारलाई क्षतिपूर्ति र बेपत्ता भएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नका लागि सरकारलाई पटकपटक गरी दुई सय २६ वटा सिफारिस गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “आयोगमा अझै पनि उजुरीहरू विचाराधीन छन् ।

तर आयोगका सिफारिसहरूको कार्यान्वयन अवस्था भने निराशाजनक हुनुले सरकार बेपत्ता पारिएका व्यक्तिहरूको न्यायका सन्दर्भमा जिम्मेवार हुन नसकेको आयोगको ठहर छ ।”

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू पटकपटक गठन भएता पनि ती आयोगहरूबाट कार्य पूर्ण नहुँदै समयावधि समाप्त हुने अवस्था रहनु चिन्ताको विषय भएको र अहिले बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रभावितहरूलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनुपर्दछ भन्नेमा आयोग दृढ रहेको जनाएको छ । रासस