६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह

सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै स्थानीय तह
अ+ अ-

गोरखा । गाउँलेको अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरूको सेवा दिने तौरतरिका पनि फेरिन थालेको छ । अहिले गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई गोरखा बजार, चितवन र काठमाडौँमा खटाउन थालेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, काठमाडौँ र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षाभत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गरेको हो ।

सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालका अनुसार कर्मचारीको टोली खटाएर विभिन्न मितिमा सहरमा शिविरि सञ्चालन गरिएको छ । “काठमाडौँमा साउन ३०, ३१, भदौ १ र २ गते घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरे, जसबाट २५० जनाले सेवा लिए । चितवनमा यही बिहीबार र शुक्रबार शिविर सञ्चालन भइरहेको छ । चितवनको धुम्ती शिविरबाट कम्तीमा पनि तीन सय जनाले सेवा लिने हाम्रो अनुमान छ । पालिकाले काठमाडौँको वनस्थली चोक र चितवनको भरतपुर महानगरपालिका–११ शान्तिटोलमा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाका अधिकांश वृद्धवृद्धा औषधोपचारका लागि काठमाडौँ तथा चितवनजस्ता सहरहरूमा बस्दै आएकाले पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो । “वृद्धवृद्धा गाउँमा आउनुपर्दा उहाँहरूलाई गाह्रो हुने भयो । कतिपय त ह्वीलचियरसहित आउनुपर्ने अवस्था छ । हाम्रा अधिकांश पालिकापासी काठमाडौँ र चितवनमा बसोबास गर्नुुहुन्छ त्यसैले त्यहीँ पुगेर घुम्ती शिविर सञ्चालन गरेका हौँ”, अर्यालले भन्नुभयो । शिविरमा एकजना एमआइएस अपरेटर, एकजना वडासचिव र जनप्रतिनिधि खटिएका उहाँको भनाइ छ ।

सिरानचोक गाउँपालिकाका अधिकांश वृद्धवृद्धा छोराछोरीको सहारा खोज्दै काठमाडौँ, चितवनमा बसोबास गर्न गएका छन् । कतिपय भने औषधोपचारका लागि ती सहरमा बस्दै आएको अर्यालले बताउनुभयो । उनीहरू गाउँमा आउनुभन्दा पालिका नै उता जानु सजिलो हुने भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन उतै गएको उहाँको भनाइ छ । पालिकाले सहरमै पुगेर यसरी घुम्ती शिविर सञ्चालन गरेको यो पहिलोपटक हो । गाउँपालिकाको चार हजार ८०० जना नागरिकले सामाजिक सुरक्षाभत्ता लिने गरेकामा आधाभन्दा धेरै पालिका बाहिर बसोबास गर्दै आएका छन् ।

सिरानचोकले जस्तै बारपाक सुलिकोट गाउँपालिकाले पनि काठमाडौँ र चितवनमा घुम्ती शिविर सञ्चालन गरेको छ । पालिकाले यही साउनको अन्तिम साता काठमाडौँ र चितवनमा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि शिविर सञ्चालन गरेको हो । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिविर चलाएको पालिकाले जनाएको छ ।

बारपाक सुलिकोटले साउन २६ र २७ गते चितवन तथा साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताउनुभयो । जसबाट चार सय २५ जनाले सेवा लिएका उहाँले जानकारी दिनुभयो । चितवनमा भएको शिविरमा एक सय २९ जना र काठमाडौँ दुई सय ९६ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । नवीकरण गराउनेमा दुई सय ४१ महिला र एक सय ८४ पुरुष छन् ।

गाउँपालिकाका करिब छ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिका बाहिर रहेको आलेले जानकारी दिनुभयो । तीन हजारमात्र गाउँमा छन् । बाँकी पाँच सय जना गोरखा बजारमा, एक हजार जति चितवन र एक हजार ५०० जना काठमाडौँमा बसोबास गर्ने उहाँले सुनाउनुभयो ।

चुमनुब्री गाउँपालिकाले पनि काठमाडौँ र जिल्ला सदरमुकाम गोरखामा घुम्ती शिविर सञ्चालन गरी सामाजिक सुरक्षाभत्ताको कागजात नवीकरण गरेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने बताउनुभयो । विकट मानिने धार्चे गाउँपालिका पनि घुम्ती शिविर गर्ने तयारीमा छ । यही भदौ १५, १६ र १७ गते जिल्ला सदरमुकाममा सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो । शिविरबाट छ सय जनाले सेवा लिने पालिकाको अनुमान छ ।

अजिरकोट गाउँपालिकाले साउन २८ र २९ गते चितवनमा र साउन ३० र ३१ गते काठमाडौँमा शिविर आयोजना गरेको थियो । जिल्लाको आरुघाट गाउँपालिकाले पनि काठमाडौँमा घुम्ती शिविर गरेको छ । पालिकाले साउन १६, १७, १८ र १९ गते शिविर सञ्चालन गरेको थियो । जसबाट दुई सय ३५ जनाले सेवा लिएका छन् । हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ । बसाइँसराइ तथा उपचारका लागि सहर झरेकाको समस्यालाई मध्यनजर गरी सहरमै शिविर सञ्चालन गरेर कार्ड नवीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृतहरूको भनाइ छ । रासस