९ आश्विन २०८१, बुधबार
,
Latest
विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ? दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित भेटिएपछि वीरगञ्जका तीन वडा सिल



अ+ अ-

वीरगञ्ज । जिल्लामा बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले संक्रमण देखिएको वीरगञ्ज महानगरपालिका–३ सहित तीन वटा वडा सिल गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बुधबार साँझ बसेको सुरक्षा समितिले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ का सबै इलाकाहरू समेटिने गरी सिलबन्दी गर्ने निर्णय गरेपछि उक्त क्षेत्र सिल गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिहरूको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरी यथाशीघ्र चेकजाँचको कामलाई तीव्र पार्ने, कोभिड–१९ संक्रमण फैलनबाट रोक्न पूर्वमा रजतजयन्ती चोक, इदगाह चोक, छपकैया बिट चोक, मालपोत चोक, पश्चिममा छपकैया बजार चोक, सर्सिया पुल चोक, सिर्सिया भन्सार, उत्तरतर्फ एमबिएस स्कुल, पानीट्यांकी चोक, युक्ति सुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगञ्ज महानगरपालिका–१ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्रसहित वडा–१, २ र ३ का सिलबन्दी गर्ने निर्णय जिल्ला सुरक्षा समिति पर्साले गरेको छ ।

वीरगञ्जको पावर हाउस चोकदेखि रजतजयन्ती चोकसम्मको मुख्य सडकमा बिहान पाँच बजेदेखि साँझ साढे सात बजेसम्म आवतजावत गर्न नपाइने गरी निषेधित गरिएको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरू (साइकल, मोटरसाइकल, टेम्पो, रिक्सा, बयलगाडा, टांगा, बस, ट्रक, ट्रिपर, ट्रयाक्टर आदि) पावर हाउस चोकदेखि रजतजयन्ती चोकसम्मको मूख्य सडकमा सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरूको ढुवानी यसअघि गरिएका निर्णयअनुसार नै गर्न दिने र औषधि उपचार खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य कुनै पनि काममा कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन नपाउने गरी निषेधित गर्ने निर्णय समितिले गरेको छ ।

बुधबार १७ जना संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका–३ मा ३० चैतदेखि नै सिल गरिएको थियो भने गत आइतबारमा संक्रमितको घर मात्र सिल गरी खोलिएको थियो । त्यस्तै गरी बुधबार एकै परिवारका १७ जना थप संक्रमित भेटिएकाले बुधबार रातीदेखि सिल गरिएको छ । उक्त वडामा संक्रमितको सख्या १९ पुगेको छ ।गत आइतबार संक्रमण पुष्टि भएका व्यक्ति वडामा राहत बाँडन सक्रिय रहेका र सो वडामा करिब १२ सय घर परिवारलाई राहत बाँडिएकाले वडाका सर्वसाधारणहरू त्रसित बनेका छन् ।