६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विकट गाउँको दु:ख : बर्खामा सडक नचल्दा खाद्यान्न ढुवानीमा समस्या

विकट गाउँको दु:ख : बर्खामा सडक नचल्दा खाद्यान्न ढुवानीमा समस्या
अ+ अ-

ढोरपाटन, (बागलुङ) । जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो । एक दशक अगाडिसम्म निसेलढोरमा बर्खामा मात्र निसीबाट वस्तुभाउ लिएर स्थानीय बसोबास गर्ने गर्थे भने अहिले बाह्रै महिना स्थायी रूपमा बस्नेको सङ्ख्या बढेको छ ।

अहिले बर्खामा तीन सय र हिउँदमा झण्डै एक सय ५० घरपरिवार निसेलढोरमा बसोबास गर्ने गर्छन् । आर्थिक वर्ष २०७६र७७ मा ढोरपाटनबाट मोटरबाटोले निसेलढोर जोडिएको थियो । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्टमात्र पुग्ने गरेका छन् । बर्खामा यातायात सञ्चालन नहुँदा हिउँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने अवस्था रहेको स्थानीय सम्झना विकले बताउनुभयो ।

ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने उहाँको भनाइ छ । सडक खुलेको यतिका वर्षसम्म सुधार गर्न नसक्दा यहाँका सयौँ स्थानीयले बर्खामा सास्ती खेप्नुपरेको विकले गुनसो पोख्नुभयो । गाडी नचल्दा बजारबाट सामान मान्छेले बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।

विकले भन्नुभयो, “बर्खा किन लाग्दो हो भन्ने हुन्छ, न गाडी चल्छन्, न घोडा खच्चड नै हिँड्न पाउँछन्, बजारबाट सामान ल्याएर उपभोग गर्न साह्रै समस्या छ, हाम्रो समस्या सरकारले सुन्दै सुनेन, यस्तो विकट ठाउँमा छौँ, एक बोरा चामल ल्याउन दिनभर लाग्छ, गाउँमा कोही सिकिस्त बिरामी भए डोकामा बोकेर लैजानुपर्ने बाध्यता छ, यति सडक बने त सजिलो हुने थियो ।”

निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुने गरेको स्थानीय कुले विकले बताउनुभयो । गाउँमा सडक आएपछि हिउँदमा मान्छेले र घोडाले बोकेरै सामान ढुवानी गर्नुपर्ने बाध्याता कम भएको भन्दै चार किलोमिटर सडक व्यवस्थित बनाउन सके बाह्रै महिना निसेलढोरमा गाडी चल्ने उहाँ बताउनुहुन्छ । असारदेखि कात्तिकसम्म सडक नचल्दा यहाँ उत्पादन भएको वस्तु कुहिने जोखिम रहेको विकको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले यस वर्ष मसखोलाबाट निसेलढोरसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि सर्भे गरिसकेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखले सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालन हुने उहाँको भनाइ छ । सडकले निसेलढोरवासीको दैनिकीमा परिवर्तन ल्याएको भन्दै अब बर्खामा पनि समस्या नहुने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।

“निसेलढोर भौगोलिक रूपमा अलि पछाडि छ, तर पनि हामीले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, पहिले यहाँ सडक थिएन, पिउनेपानी थिएन, अहिले पानीको पनि सुविधा छ, सडक बर्खामा अलिकति सञ्चालन हुनसकेको छैन”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “अब यसलाई व्यवस्थित गरेर बाह्रै महिना सञ्चालन गर्छौैँ, त्यसपछि स्थानीयले यहाँको उत्पादनलाई सहज रूपमा बजार पठाउन सक्नेछन् भने यात्रा र ढुवानीका लागि सहज हुनेछ ।” रासस