काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आफ्नो तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।
मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएप । उनले ४९ बलमा ३ चौका र १ छक्का सहयोगमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे । यस्तै, कुशल मल्ल ११ रन बनाउदा दीपेन्द्र सिंह ऐरी र भिम शार्कीले एक एक रन बनाए ।
मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । यस्तै, थोमस रोजर्सले ६५ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १/१ विकेट लिए ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ए सँग पराजित भएको थियो ।










