६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भूकम्पका पाँच वर्ष, रमेशको उदाहरणीय यात्रा

भूकम्पका पाँच वर्ष, रमेशको उदाहरणीय यात्रा
अ+ अ-

रमेश खत्री
 

म त्यस्तै १८ वर्षको थिएँ । भारततिर कामको खोजीमा जानुभन्दा घर छाडेर १६ वर्षकै उमेरमा काठमाडौं हानिएँ । यहाँ मेरो कोही थिएन । कामको खोजीमा नयाँ बसपार्क पुगें । त्यहाँ पनि काम भेटिनँ । बसपार्क नजिकैको एउटा गेस्ट हाउसमा काम पाएँ । गेस्ट हाउसको नाम थियो, भूमिश्वरी गेस्ट हाउस । गुजुमुज्जु बाक्लै घरहरु भएको एउटा गल्लीभित्र थियो, त्यो गेस्ट हाउस । ८ तल्ले घर, तर त्यसैभित्र ४ वटा गेस्ट हाउस थिए । म काम गर्ने गेस्ट हाउस सबैभन्दा तल थियो अर्थात् दोस्रो तलामा ।      

यो गेस्ट हाउसमा मजस्तै काम गर्ने अर्का भाइ नुवाकोटका पेम्बा लामा थिए । हामी दुबै जना ११ बजेतिर खाना खान बस्यौं । म भने भोलिपल्ट घर जाने भनेर बसको टिकट लिएर आएको थिएँ । घर लैजान केही सरसामान पनि किनेको थिएँ ।

पेम्बा र म खाना खाँदै थियौं । मध्यान्ह भइसकेको थियो । एकचौटि घर हल्लियो । शुरुमा बिस्तारै, तर एक्कैछिनमा जोडजोडले । हाम्रो घर बलियो रहेनछ । गल्र्याम्म ढल्यो । माथिका तला एकैचोटि तल आएछन्, खप्टिदै । मेरो साथी पेम्बा फुत्त बाहिर भाग्यो, तर बीच प्यासेजमै पुरिएछ, उसलाई ६ दिनपछि उद्धार गरिएछ जीवितै । अन्यौलबीच म पनि भाग्न खोज्दा माथिबाट छत खसिसकेको थियो । होसै पाइनँ । एक छिनपछि होस आयो । यताउता हेरें, पूरै अन्धकार थियो । मेरा दुबै खुट्टा सिमेन्टको बिमले थिचेका थिए, हलचल गर्न सक्ने अवस्था थिएन । तर मेरो तिघ्रादेखि माथिको जिउ भगवानले हात थापेजस्तो भएछ । टाँडे परेको ठाउँमा रहेछु । यसो दायाँबायाँ हेरें केही देखिनँ, पुरिएको थिएँ । तर शास फेर्न, बोल्न र कराउन सक्ने अवस्थामा रहेछु । हात चलाउन, हलचल गर्न सक्ने अवस्थामा थिइनँ । कुम पनि च्यापिएको थियो ।

म होसमा आइसकेको थिएँ, तर खुट्टामा लागेको चोट ? त्यो त मलाई ख्यालै थिएन । मेरो दिमागमा अनेक कुरा खेल्न थालें । जीवन र मरणको दोसाँधमा आफूलाई पाएँ । मलाई शुरुमा त मरिन्छ जस्तो लागेको थियो । घरपरिवार सम्झिएँ । ममा एक किसिमको आत्मविश्वास आयो, आँट आयो । म बेस्सरी कराउन थालें, रुन थालें । जोड जोडले कराएँ । कराउँदा कराउँदा मेरो घाँटी घ्यार घ्यार गर्न थालेको थियो । मेरो कुरा सुनोस् पो कसले ? म मुनिको तलामा थिएँ, त्यसमाथि सिंगो घरले थिचेको थियो । भित्रसम्म को पो आओस् ?

मैले पछि थाहा पाएँ । मेरो आवाज बाहिर मधुरो स्वरमा सुनियो रे । मलाई चिन्ने एक जना माल्दाई हुनुहुन्थ्यो । उहाँ ट्याक्सी ड्राइभर । कोही आफन्त, चिनेजानेको मान्छे पो परेको छ कि भनेर उहाँ पनि ट्याक्सी सडकमै छाडेर त्यहाँ आउनु भएको रहेछ, उद्धारका लागि । नभन्दै उहाँले मेरो आवाज सुन्नु भएछ । संयोगले उहाँ र मेरो बीच मधुरो आवाजमा, टाढा कतै सुनेजस्तो गरी कुराकानी भयो । लौ, यहाँ एउटा भाइ रहेछ जिउँदै भनेर हारगुहार गर्नु भएछ । प्रहरी, सेना र अरु उद्धारकर्मीहरु त्यहाँ आएछन् मलाई निकाल्न । तर के त्यति सजिलो थियो र ?

मलाई बाहिर निकाल्न सबैले भएभरको बुद्धि, जुक्ति लगाएछन् । त्यत्रो घरको पहाड पन्छाउनु पर्ने एकातिर थियो, अर्कोतिर मलाई त बिमले थिचेको थियो । बिम उठाउन सक्ने कुरा भएन, सरक्क पन्छाउन सम्भव नै थिएन । उद्धारमा खटिनेहरुले बिम काट्ने सल्लाह गरेछन् । तर बिम काट्न त्यति सजिलो थिएन । बिमका फलामे डन्डी काट्नु पर्ने थियो, होसियारीपूर्वक काम नगर्दा म आफैं काटिन्थें । हातले काट्न सक्ने अवस्था भएन छ । बिजुली गइसकेको थियो । उहाँहरुले एउटा जेनेरेटर खोजेर ल्याउनु भएछ । जेनेरेटर चलाएर मेसिनको सहयोगमा बिम काट्न थाल्नु भयो । मेरो धुलाम्ये टाउको देखिए पनि खुट्टा निकाल्न नसक्दा झण्डै १२ घण्टा बितिसकेको थियो । यही भवनमा ३०–३५ जनाको पुरिएर ज्यान गएको थियो ।

राति १२ बजेतिर बिम काट्न सम्भव भयो । मलाई सकुशल निकाल्न सम्भव भएको भन्दै सबै खुशी भए । खुट्टामा ब्यान्डेज लगाएर मलाई हतारहतार एम्बुलेन्समा राखेर टिचिङ अस्पताल लगियो । मेरो पेट बेस्सरी दुखिरहेको थियो । लगत्तै मलाई भित्र अपरेसन थिएटरमा लगियो । त्यसपछि म बेहोस भएँ । मलाई तीन दिन होस् खुलेन ।

तीन दिनपछि होस खुल्दा म अस्पतालको बेडमा थिएँ । पेट र खुट्टामा प्लास्टर गरिएको थियो । मलाई त्यहाँ सहारा दिने कोही थिएनन् । एक्लो थिएँ, परिवारका कोही थिएनन् । मलाई भेट्न गाउँबाट बाआमा, दाजु बहिनी आउन सम्भव पनि थिएन, कसैलाई म घरभित्र पुरिएको कुरा थाहा पनि थिएन । अस्पतालको बेडमा मलाई आडभरोसा दिने नर्सहरु मात्रै थिए । अस्पतालमा उपचारका लागि ल्याइएका अरु पीडित घाइतेहरु मेरो बेड वरिपरि थुप्रै थिए । उनीहरु सबै मुखामुख गरिरहेका थिए, नर्सहरु र डाक्टरहरु पनि चुप थिए । एक जना नर्सले मलाई पेटको अपरेसन गर्नु परेको सुनाइन् । म बेहोस् हुनुअघि पेट बेस्सरी दुखेको थियो, सायद पेटमा अत्यधिक रक्तश्राब भएर होला अपरेसन गर्नु परेको ।

मेरो जीवनमा कहिल्यै बिर्सन नसकिने यस भयानक दुर्घटनाले सबैभन्दा ठूलो चोट दियो । मैले दुबै खुट्टा गुमाउनु पर्यो । मैले कल्पना पनि गरेको थिइनँ, खुट्टै काट्नु पर्ला भनेर । तर नियतीको अघिल्तिर कसको के लाग्छ ? डाक्टरहरु आएर घुम्थे, भन्न हिच्किचाउँथे । बिस्तारै नर्सले मलाई सम्झाइन्, जीवन बचाउन खुट्टा काट्नु परेको बताइन् । नर्सले भनेपछि मात्र मैले यसो प्लास्टर गरेको खुट्टातिर हेरें, साँच्चिकै यो सपना थिएन, बिपना नै रहेछ । मलाई त्यतिखेर मेरो निजी जीवन भन्दा पनि घरपरिवारको चिन्ता लाग्यो, सम्झिएँ बाआमालाई यो कथा–व्यथा कसरी सुनाउनु, के भन्नु ?

मेरा केही निजी गुणहरु थिए, जसले जीवनलाई सधैं सकारात्मक हुन प्रेरित गरिरहन्थे । जस्तै दुःखमा पनि म हाँस्न सक्थें । अस्पतालमा म निकै चाँडो रिकभर हुँदै गएँ, सबैले हौसला दिन्थे । मेरो व्यवहार देखेर सबैले भन्थे, अहो केही नभएजस्तो कति चाँडो रिकभर भएको यो भाइ ?

दोस्रो जीवन

हासी खुशी जति भए पनि अपाङ्ग व्यक्तिका सीमा हुँदा रहेछन् । मेरा पनि केही सीमा थिए, तर कुरो बुझियो भने हामीजस्ता व्यक्तिलाई सहयोग गर्नेहरु पनि समाजमा थुप्रै फेला पर्दा रहेछन् । मलाई पनि अस्पतालबाट उद्धार गरियो । घुँडामुनि दुबै खुट्टा काटिएको मलाई जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रले मद्दत गर्यो । एक वर्षपछि घर गएँ, अपाङ्ग परिचय पत्र र नागरिकता बनाएँ । म खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालय, जोरपाटीमा ८ कक्षामा भर्ना भएँ । त्यहीँबाट मैले एसइइ पास गरें ।

स्कुले जीवन खगेन्द्र नवजीवनमा बिते पनि अहिले म जोरपाटी नजिकै माकलबारीमा एउटा कोठा भाडामा लिएर एक्लै बस्छु । सानो कोठा छ, त्यही कोठामा खाना बनाउँछु, मेरा लुगा म आफैं धुन्छु, भाँडा माझ्छु । एउटा ह्वीलचेयर खाटकै छेउमा हरदम तयार हुन्छ । बिहान म भक्तपुर गोठाटारको विद्या विकास कलेजमा कक्षा ११ मा पढ्दैछु । व्यवस्थापन विषय छानेको छु र त्यसमा कम्प्युटर साइन्स मेरो मेजर विषय हो ।

पौडीको साहसिक यात्रा

दैलेखको महापु गाउँपालिका–३ बाँसीका यिनै रमेश खत्रीको जीवनमा अहिले पौडी खेलको रस बसेको छ । अपाङ्ग व्यक्तिको पौडीमा उनी राष्ट्रिय च्याम्पियन नै भइसके । यही खेलले उनलाई देशविदेश घुमाएको छ । तर शुरुमा यो अवसर पत्रकार नरेन्द्र श्रेष्ठले जुराएका रहेछन् । नरेन्द्रले एकदिन पौडी खेल्छौ भनेर सोधेछन् । आँटिला रमेशले खेल्छु भनेछन् । नरेन्द्रले उनलाई महाराजगंजको एउटा स्वीमिङ पुलमा लगेछन् । त्यहाँ उनले पहिलोपटक शहरको स्वीमिङ पुल देखेका थिए । विकट गाउँको खोलामा सिकेको पौडीकला अहिले यहाँ काम लाग्यो, तर खुट्टा नभएको व्यक्तिले कसरी पौडिनु ? कसरी तैरिनु ? तैपनि रमेश केही तैरिन सफल भए । उनी भन्छन्, म त्यहाँ निकै रमाएँ, नरेन्द्र दाइले केही फोटो पनि खिच्नुभयो ।

रमेशलाई कसैले सुझायो, नेपाल प्रहरीको प्रदर्शनीमार्गको स्वीमिङ पुलमा सित्तैमा पौडी खेल्न पाइन्छ । उनी त्यहाँ गए, तर प्रहरीले अपाङ्गलाई पौडी खेल्न दिएर जोखिम लिन चाहेन । उनलाई पन्छाउन नवजीवन केन्द्रको चिठी लिएर आउन भनियो । उनी चिठी लिएर गए, तर एक दिन मात्र पौडी खेले, अपायक भएका कारण अरु दिन गएनन् ।

पौडी पोखरीहरु जोरपाटीमा पनि थिए । शेर्पा पार्टी प्यालेसमा १५ दिनको तालिमको अवसर जुटाइदियो एनएसआइएसएले । मलाई केही डर लाग्दैनथ्यो । यहीबीच सन् २०१६ मा सातदोबाटोस्थित पौडी पोखरीमा राष्ट्रिय स्वीमिङ प्रतियोगिता आयोजना भयो । शारीरिक अशक्तताका आधारमा फरकफरक वर्गमा राखेर प्रतियोगिता गराइयो । उनले यहाँ २५ मिटरको फ्रिस्टाइल पौडी २२ सेकेन्डमा पूरा गरेर पदक जिते । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उनले पदक थापे । अब त उनको यात्रा रोकिने कुरै थिएन ।

सन् २०१६ मै नेसनल पारा–स्वीमिङ एसोसिएसन नेपालको संयोजनमा उनी पौडी तालिमका लागि जापान पुगे । राजु कटवाल, लक्ष्मी कुमाल र रमेश खत्री यो तालिममा सहभागी भए । जापानमा यसै वर्ष २०२० मा आयोजना हुने टोक्यो पारा–ओलम्पिक (कोरोनाभाइरसको महामारीका कारण यो खेल सन् २०२१ मा हुनेगरी हाल स्थगित भएको छ) मा सम्भावित खेलाडी छान्न यो अवसर जापान सरकारले उपलब्ध गराएको थियो । उनले यहाँ धेरै प्राविधिक ज्ञान हासिल गरे । नेपालमा चिसो मौसममा छ महिना पौडी पोखरी बन्द हुने भएपनि जापानमा पोखरीका पानी वर्षैभरी न्यानो हुने अनुभव उनले गरे । जापानी पौडी पोखरीहरु अपाङ्गका लागि अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम ५० मिटरका हुने रहेछन् । तर नेपालमा अपाङ्गलाई २५ मिटरमा अभ्यास गर्नु परेको उनको दुःखेसो छ ।

ओलम्पियन हुने चाहना

रमेशको अहिलेको मुख्य चाहना नेपालका तर्फबाट ओलम्पियन खेलाडी हुने हो । तर के ओलम्पिकमा सहजै प्रवेश पाइन्छ ? अवश्य पाइन्न । खेलाडीको मेहनत एकातिर हुनुपर्छ भने प्रत्येक खेलाडीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलहरुमा सहभागिता जनाएको हुनुपर्छ । यही तयारीका लागि रमेश र अरु अपाङ्ग साथीहरु एसियाली प्रतियोगितामा सहभागी भइसकेका छन् । उनी इन्डोनेसियाको जकार्तामा आयोजित एसियन पारा स्वीमिङमा सहभागी भइसकेका छन् । यो प्रतियोगितामा ५० मिटर पौडी उनले ४६ सेकेन्डमा पुरा गरेर १४औं स्थान हासिल गरे । तर लन्डनमा डिसेम्बरमा आयोजित प्रतियोगितामा उनले अर्थाभावले सहभागिता जनाउन पाएनन् । अप्रिलमा सिंगापुर र मे मा पोर्चुगलमा हुने दुबै अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द भइसकेका छन् ।

अन्तर्राष्ट्रिय पारा–ओलम्पिक कमिटीबाट मान्यताप्राप्त नेसनल पारा–स्वीमिङ एसोसिएसन नेपालका अध्यक्ष सरोज श्रेष्ठ पनि रमेशको उत्साहबाट निकै खुशी छन् । उनी भन्छन् – सन् २०१६ मा पहिलो पटक जापानमा तालिमका लागि पठाइएको टोलीमा रमेश पनि सहभागी थिए । अब आउँदो टोक्यो ओलम्पिकमा नेपाली खेलाडी छनौट गर्दा नेपालले २ जना खेलाडी पठाउन सक्नेछ जसमा एक जना पुरुष र एक जना महिला हुनेछन्, र उनीहरु फरक फरक विधा (स्वीमिङ र एथ्लेटिक्स) का हुनुपर्नेछ । वाइल्ड कार्डका आधारमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले नै खेलाडीहरुको प्रदर्शनलाई ध्यान दिएर छनौट गर्नेछ ।

अपाङ्गता भएका खेलाडीका लागि पौडी अझ कठिन रहेको उनको भनाई छ । अधिकांश अशक्तता भएका व्यक्तिहरु जोरपाटी क्षेत्रमा बस्ने गर्नुहुन्छ भन्दै श्रेष्ठ भन्छन् – सातदोबाटोको पौडी पोखरीमा अभ्यासका लागि आउजाउ गर्न नै धौधौ हुन्छ । अरु निजी स्तरका पोखरीहरुमा उनीहरुलाई अफ–टाइममा मात्र खेल्न दिइन्छ । बिहान, दिउँसो अरु व्यक्तिले खेलेपछि साँझपख अपाङ्गता भएका व्यक्तिले खेल्न पाउँछन् । त्यसले पनि पौडी खेलमा चाहेजति अभ्यास गर्न उनीहरुले पाइरहेका छैनन् ।

रमेशको भनाई पनि उही छ, नेपालमा पौडी पोखरीहरु छ महिना खुल्छन् छ महिना बन्द हुन्छन् । बिहान बेलुका पढाइसँगै पौडीलाई निरन्तरता दिनुपर्ने बाध्यता छ । तर नाचगान, पढाइ, पौडी, र अरु कामले मलाई सक्रिय बनाउँछ । अरुलाई पनि प्रेरणा मिलोस् भनेर केही न केही काममा लागेको हुन्छु, अवसरको खोजी गरिरहन्छु ।  (प्रस्तुतिः साेमनाथ लामिछाने, तस्वीरहरूः रमेश खत्री)