काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले पुनः लकडाउन थप्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि सातौपटक लकडाउनको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सरकारले ०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनको छैटौंपटकको थपिएको म्याद सोमबार सकिँदैछ ।
सरकारले लकडाउन थप दुई साता लम्ब्याउने तयारी गरेको छ । सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना संक्रमणबाट ज्यान गएपछि सरकारले लकडाउनलाई अझै कडा र प्रभावकारी बनाउने गृहकार्य सुरु गरिसकेको छ ।