काठमाडौं । अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले आज नर्दन टेरिटोरी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै छ । यो नेपालको पहिलो खेल हो ।
नर्दन टेरिटोरी घरेलु टोली हो । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ ।
नेपाली टोलीको कप्तानी रोहित पौडेलले नै गर्नेछन् ।
सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन् ।
सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ ।
यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ ।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी–२० खेल खेल्नेछ । यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्दैछ ।
एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन् । शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन् ।










