२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर



अ+ अ-
गण्डकी । देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्द्धन गर्ने भएको छ ।
महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उहाँले बताउनुुभयो ।
सो वडामा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवर्द्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछि महानगरपालिका पनि मरिच खेतीको प्रवर्द्धनमा जुटेको हो ।
बजारमा मरिच कालो सुनका रुपमा समेत परिचित छ । प्रतिकिलो रु दुई हजार पर्ने यो मसलाजन्य बाली बास्तोलाले २०४६ सालदेखि लगाउन थाल्नुभएको हो । आफूले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०/१० रुपैयाँका दरले दुईवटा मरिचका बिरुवा किनेर ल्याएको अनुभव सुनाउनुभयो ।
बास्तोलाले हाल वार्षिक ६० देखि ७० किलोग्राम मरिच उत्पादनसँगै नर्सरी तयार गरी बिरुवा बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार प्रत्येक वर्ष असारमा फल्न सुरु भई चैतमा मरिचका दाना टिप्न सकिन्छ । उहाँले एउटा बिरुवा १५० रुपैयाँदेखि २०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउनुुभयो । उहाँको फार्मबाट पुरनचौर क्षेत्रमा ४०० मरिचका बिरुवा रोप्न लगेको र माछापुच्छ«े गाउँपालिकामा ४०० बिरुवा लैजाने तयारी रहेको जानकारी दिनुभयो ।
“मैले दुईवटा बिरुवाबाट मरिचखेती सुरु गरेको थिएँ,  यतिखेर राम्रो उत्पादन त छँदै छ नर्सरीमा एक हजार ५०० बिरुवा बिक्रीका लागि तयार छन्”, उहाँले भन्नुुभयो ।   बाँदरले पनि नखाने र कुनै किराको प्रकोप मरिचखेतीमा नहुने भएकाले मनग्गे आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
उहाँको मरिचखेती गत वैशाखमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन गर्नुभएको थियो । अवलोकनसँगै महानगरप्रमुख आचार्यले मरिचखेतीको विस्तारमा जोड दिँदै कृषकलाई बिरुवा वितरण सुरु गर्नुभएको हो । मरिचखेतीबाट सामान्य लगानीमा अधिकतकम फाइदा लिन सकिने महानगरपालिकाका कृषि विकास शाखाप्रमुख कडरिया बताउनुहुन्छ ।
सामान्यतः एक हजारदेखि एक हजार २०० मिटरको उचाइमा मरिचखेती हुने बताउँदै उहाँले सामान्यतः ओसिलो ठाउँमा यसको उत्पादन हुने जानकारी दिनुुभयो । बहुवर्षे सदाबहार मरिच लहरे बाली हो ।
भियतनाम, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, चीन र श्रीलङ्कामा यसको व्यावसायिक खेती हुने गरेको छ । नेपालमा मोरङ, सुनसरी, झापा, रामेछाप, लमजुङलगायतका जिल्लाहरुमा मरिचखेती हुने गरेको छ । मरिचको प्रयोग मसला र आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटु रोगका लागि पनि मरिच प्रयोग गरिन्छ ।
वडामा कृषितर्फ आकर्षण बढाउन निरन्तर पहल भइरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुुभयो । वडाभित्र व्यावसायिक पशुपालनलाई पनि जोड दिइएको छ । उहाँले वडाबाटै वार्षिक रु एक करोड ३० लाखको दूध बिक्री हुने गरेको बताउनुभयो ।
मरिचखेती विस्तारसँगै मसलाजन्य बाली उत्पादनमा जोड दिने लक्ष्य राखिएको बताउँदै उहाँले कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै यसबाट स्थानीयवासीको आयआर्जन बढाउने लक्ष्य राखिएको बताउनुभयो । रासस